किशोरी हत्या प्रकरण: एसपी विष्टसहित तीनजनाकै डिएनए मेल खाएन

832
views

काठमाडौँ, १४, असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए ‘भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ ।

प्रहरीको फोरेन्सीक ल्याबमा गरिएको तीनैजनाकै डीएनए परिक्षणमा कसैको पनि स्याम्पल ‘स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट ल्याबले शुक्रबारनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइसकेको छ।
प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्टको डीएनए म्याच नभएसँगै उनीहरु तीनजना माथि नै शंिका गरेर परिक्षण गरिएको थियो। प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन।

हत्या भएको ६७ दिन बितिसक्दा समेत अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। महेन्द्रनगरमा हत्यारा पत्ता लगाउन र उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पुनःआन्दोलन भइसकेको छ।

सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ।