तरुण दलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

843
views

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आज आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार जिल्ला प्रशसन कार्यालय काठमाडौंमार्फत् ज्ञापनपत्र बुझाउँदै सरकारसँग मूल्यवृद्धि, कालोबजारी र तस्करी नियन्त्रण गर्न समेत माग गरेको हो ।

‘नेपालीहरुको महान चाड बडादसैंको मुखमा आएर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुहरुमा सरकारले गरेको मूल्यवृद्धि र महंँगीले नागरिकलाई निकै मार परेको छ,’’ स्थानीय प्रशसनमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।

दसैंको मुखमा आएर पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, कालोबजारी र तस्करीलाई नियन्त्रण र कारवाही गरिनुपर्ने, ७५३ वटै स्थानीय तहमा अति आवश्यकीय दैनिक उपभोग्य वस्तुहरु उपलब्ध हुने गरी सुपथ मूल्य पसलको व्यवस्था हुनुपर्ने तरुण दलले माग गरेको छ ।

तरुण दलले दसैंमा गाउँघर जाने यात्रुका लागि थप यातायातका साधनहरुको व्यवस्थित व्यवस्थापन गरिनुपर्ने, चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनाबाट सतर्क रहेर जनताको जिउधनको सुरक्षा गरी शान्ति सुव्यवस्था कायम हुनुपर्नेसमेत माग गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए ।
तरुण दलले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरमा ल्याउन समेत माग गरेको छ ।