सेना माथिको हस्तक्षेप अस्विकार्यः प्रधानसेनापति

786
views

काठमाडौं, २५ असोज । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामाथिको हस्तक्षेप स्विकार्य नहुने बताएका छन् । थापाले लोकतान्त्रिकरणको नाममा नेपाली सेनामाथि ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजिएको भन्दै उनले त्यो स्वीकार्य नहुने बताएका हुन् । प्रधानसेनापति भएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेर बिहीबार थापाले यस्तो बताएकाहुन् ।

नेपाली सेना ‘चेन अफ कमाण्ड’मा चल्ने संगठन हो थापाले भने ‘नेपाली सेनामाथि हुनसक्ने कुनैपनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य हुँदैन् ।’ उनले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचनालाई परिवर्तन गर्न नहुने बताए ।

केही समूहले विखण्डनका कुरा गरिरहेको भन्दै प्रधान सेनापति थापाले भने ‘त्यस्ता गतिविधिलाई निस्तेज पार्न सरकारले सेनालाई कुनै अधिकार दिएको छैन् ।’ आफू संगठन सुदृढीकरणको बाटोमा रहेकाले सरुवा, बढुवा, भर्ना र शान्ति मिसनमा छनोट गर्दा कसैको भनसुन नलाग्ने उनको भनाई छ । थापाले भनसुन, नातावाद र निकटस्थताका आधारमा नभइ योग्यता र क्षमताका आधारमा सकलदर्जाले अवसर पाउने बताए ।

‘सरुवा, बढुवा र शान्ति मिसनमा योग्यता क्रमका आधारमा छनोट हुन्छ’, थापाले भने, ‘सबैले समान अवसर पाउँछन्।’ नेपाली सेना भित्र हुने भ्रष्टाचार छानबिन गर्न सैनिक विशेष अदालतलाई सक्रिय बनाउने उनको भनाइ छ ।