सम्बन्धविच्छेदका मुद्दा वृद्धि

692
views

लमजुङ, १५ कात्तिक । गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको संख्यामा वृद्धि भएको छ ।

भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भएपनि लमजुङ अदालतमा दर्ता भएका मुद्दामा पुरुष भन्दा महिलाकै संख्या दोव्बर बढि छ ।

करीब तीन महिनाको अवधिमा ३७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा २६ महिला र ११ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् जसमा १४ महिलाले दर्ता गरेको मुद्दामा मिलापत्र गरिएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । पुरुषले दर्ता गरेको एउटा मुद्दा फिर्ता भएको छ ।

सम्बन्धविच्छेदका लागि विशेषगरी लाउन–खान नदिएको, अवैध सम्बन्ध राखेको र सम्पत्ति हिनामिना गरेको लगायतका आरोपमा अदालत आउने गरेका छन । पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, प्रेम विवाह र नयाँ पुस्ता स्वतन्त्र रूपमा रहन चाहनु नै सम्बन्धविच्छेदका प्रमुख कारण रहेको अदालतका स्रेस्तेदार शर्माले बताए ।

गत आवमा १५१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये १३३ मुद्दा फछ्र्यौट भएको थियो ।