मानवअधिकारकर्मी तुलाधरको निधन

866
views

काठमाडौँ । मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको निधन भएको छ । तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको हो । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको उनका परिवारका सदस्यले जानकारी दिए ।

पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

तुलाधार पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा मानिन्थे । उनी २०६२र६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता पनि थिए ।

२०४६ सालमा कांग्रेस र तत्कालीन वाममोर्चालाई एक ठाउँमा ल्याउन उनको महत्वपूर्ण भूमिका थियो । नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना गर्ने अभियानमा लामो समय खर्चिएका तुलाधर २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए ।

नेकपा एमालेको समर्थनमा २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निवर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए ।