चीन र पाकिस्तानका प्रधानमन्त्रीको भेट

603
views

काठमाडौं । चीन र पाकिस्तानका प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । बेइजिङ भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खान र चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता भएको हो । दुई नेताबीच शनिबार ग्रेट हल अफ पिपुल्समा भेटवार्ता भएको थियो । दुई नेताबीच भएको भेटमा विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगबारे छलफल भएको थियो ।

चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो । पाकिस्तानमा चीनले ठूलो लगानी गर्दै आएको छ ।

‘चीनको लगानी आकर्षित गरेर नै हामीले देशको विकास गर्न सक्दछौँ, त्यो हाम्रो लागि राम्रो अवसर हुनेछ,’ चिनियाँ समकक्षीसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्रीले भने । उनले थपे, ‘चीनको सहयोगले मात्रै हामी समृद्धितर्फ जान सक्दछौँ र हाम्रो जीवनस्तर बढ्नेछ ।’ भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणासमेत दिएका छन् ।

सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले दुई देशको सम्बन्ध सकारात्मक रहेको बताए । उनले पाकिस्तान सधैँ चीनको प्राथमिकतामा रहेको स्मरण गरे । यसअघि प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए । मुलुकको आर्थिक अवस्था नाजुक भएका वेला देशको नेतृत्व सम्हालेका पूर्व विश्व क्रिकेट कप्तान खानले राष्ट्रपति सीसँग पनि आर्थिक सहयोगबारे छलफल गरेका थिए ।