रसुवामा स्वयंसेवक गाउँ पुगेन्न

714
views

रसुवा २९ बैशाख । स्थानीय तह निर्वाचनका लागि रसुवामा खटिएका मतदाता शिक्षा कार्यकर्ता गाउँ नपुगेको पाइएको छ । निर्वाचन चेतना फैलाउन गाउँ खटाइएका मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवक गाउँ नपुगेको पाइएको हो । जिल्लाको पाँचवटा गाउँपालिकाको २७ वटा वडामध्ये केहीमा मात्र स्वयम्सेवक पुगेका छन् । जिल्लाका विकट क्षेत्र हाकु, यार्सा लाङटाङ, बृद्धिमलगायतका क्षेत्रमा मतदान शिक्षाबारे जानकारी दिन कोही पनि नआएको स्थानीयले बताएका छन् । पार्वतीकुण्ड गाउँपालिकास्थित पाजुङका च्याङबा तामाङ भोट कसरी हाल्ने भन्ने अन्योलमा छन् । ‘यसपटकको निर्वाचनमा यसरी मतदान गर्नुपर्छ भनेर सिकाउन कोही आएका छैनन् । तामाङले नयाँ पत्रिकास“ग भने, ‘भोट माग्न आउनेले पनि सिकाएनन्, आयोगबाट पनि कोही आएका छैनन् । धेरैजनाको मत बदर हुन्छ कि भन्ने चिन्ता लागेको छ ।’ जिल्ला निर्वाचन कार्यालयले रसुवाका पाँच गाउँपालिकामा ४२ जना स्वयंसेवक खटाएको छ । तर, गाउँमा उनीहरूको चहलपहल देखिँदैन । गाउँमा नपुगेका स्वयंसेवकलाई कारबाही गर्ने र पारिश्रमिक नदिने रसुवाका निर्वाचन अधिकारी नवीन खालिङले बताए । उनले भने, ‘गाउँमा खटिएका स्वयंसेवकहरूले गाउँमा नै रहेको जानकारी दिने गरेका छन्, तर हामी पनि गाउँमा पुग्दा गाउँलेले स्वयंसेवक नआएको जानकारी दिने गरेका छन् । गाउँमा नगएकाहरूलाई कारबाही गर्ने तयारी गरिरहेका छौँ ।
नमुना मतपत्र समेत पुगेन
मतदान केन्द्रमा नमुना मतपत्रसमेत नपुगेको मतदान अधिकृतहरूले गुनासो गरेका छन् । आयोगले बिहीबारदेखि मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भनेको थियो । पाजुङ प्रावि मतदान केन्द्रका मतदान अधिकृत कुमार खत्रीका अनुसार अहिलेसम्म केन्द्रमा नमुना मतपत्र नआएकाले परिचयपत्र वितरणको कार्य मात्र गर्न सकिने भएको छ । ‘अहिलेसम्म हाम्रो ठाउँमा नमुना मतपत्र आएको छैन । नमुना मतपत्र नआएपछि हामीले परिचयपत्र मात्र वितरण सुरु गरेका छौँ,’ मतदान अधिकृत खत्रीले भने ।    साभारः नयाँपत्रिका