हुसेनको शव सडकमा राखेर प्रदर्शन

604
views

विराटनगर, ६, कार्तिक । हुसेन हत्या काण्डले उग्र रुप लिएको छ । दुहबीमा बुधबार भएको फिदा हुसेनको हत्यारा पत्ता नलागेको भन्दै स्थानीयले हुसेनको शवलाई सडकमा राखेर विराटनगर–इटहरी सडक खण्ड अबरुद्ध गरी प्रदर्शन गरेका छन् । स्थानीयहरुले हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्ने, गृहमन्त्रीले राजिनामा दिनुपर्नेलगायतका माग गरेका छन् ।

हत्या भएको २४ घण्टा बित्दा समेत अपराधी पत्ता नलगाएको भन्दै हुसेनका आफन्त, परिवार, स्थानीय र समर्थकहरुले कोशी राजमार्ग ठप्प पारेका हुन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले फिदाको हत्यारा पक्राउ गर्न प्रहरी प्रतिबद्ध रहेको बताउँदै बन्द खुलाउन स्थानिय नेता र मुस्लिम अगुवाहरुसँग छलफल भइरहेको बताएका छन् ।

फिदा हुसेन हत्याका हत्याराको खोजी र अनुसन्धानका लागि विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिएका छन् ।

प्रदर्शनकारीले विभिन्न पाँच बुँदे माग राखी ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा दोषीलाई चाँडै पक्राउ गर्नुपर्ने, हुसेनलाई सहिद घोषणा गर्नुपर्ने, परिवारको लालनपोषण गने कोही नभएकाले छोरालाई जागिर लगाइदिनुपर्ने, क्षतिपूर्ति उपलब्ध गराइनुपर्नेलगायतका माग उल्लेख छ ।

हुसेनको बुधबार बिहान दुहबी –९ स्थित जय बाबा इटा उघोग अगाडी बाईकमा आएको समुहले गोली प्रहार गरि हत्या गरेका थिए ।