४० सुत्रीय माग राख्दै देजमोले बुझायो ज्ञापन पत्र

722
views

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल बाँकेले ज्ञापन पत्र बुझाएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मागहरु समेटिएको ज्ञापन पत्र स्थानीय तहमा बुझाउन सुरु गरेको हो । देजमो बाँकेले जिल्लाको राप्तिसोनारी गाउँपालिकामा ४० सुत्रीय ज्ञापन पत्र बुझाएको छ । गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री समक्ष ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष खत्रीले जनताको काममा आफुहरुले सहजता दिलाउने प्रयत्न गरिरहेको भन्दै मागहरुको विषयमा क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइन् ।

मोर्चाले तत्काल मागहरुको सम्बोधन नगरेमा जनताको साथमा कडा संघर्षमा उत्रने भन्दै चेतावनी समेत दिएको छ । देजमो बाँकेको अगुवाईमा भएको ज्ञापन पत्र बुझाउने कार्यक्रममा देजमोका शुरेस वली, सोनुराम चौधरी, खिमलाल कडेंल, लालबहादुर थारु, हिराबहादुर थापा, क्रान्तिकारी किसान संगठनका केन्द्रीय सदस्य प्रेम थापा, क्रान्तिकारी माओवादी बाँकेको ४ नम्बर एरिया इन्चार्ज महिपतलाल मौर्य, जिल्ला सल्लाहकार समिति संयोजक अनन्त भण्डारीको उपस्थिति तथा पार्टी सचिव अर्जुन र केन्द्रीय सल्लाहकार समिति सदस्य ऋषिराम थारुको विशेष उपस्थिति रहेको थियो ।

त्यसैगरी देजमो बाँकेले आज (बुधबार) जिल्लाको बैनजाथपुर गाउँपालिका र कोहलपुर नगरपालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको जनाएको छ ।