जनकपुरमा अन्तराष्ट्रिय मैथिली सम्मेलन

541
views

जनकपुरधाम, २३, मङ्सिर । नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तराष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागितामा अन्तराष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तराष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको हो । उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा सो सम्मेलन हुने भएको हो ।

सम्मेलनमा समसामयिक विषयमा एक दर्जनभन्दा अधिक कार्यपत्र प्रस्तुत गरिनुका साथै कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने संयोजक रामभरोस कापडि़ भ्रमरले जानकारी दिए ।

सम्मेलनको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरदेखि सभास्थलसम्म हुने प्रभातफेरीमा मैथिल परिधानले सज्जित सहभागीद्वारा मैथिलीको उत्थानमूलक नारा, ब्यानरसहित प्रदर्शन हुनेछ । मैथिली जागरण नामाकरण गरिएको प्रभातफेरी मिल्स एरिया, भानु चोक, शिवचोक, रामचोक हुँदै कार्यक्रम स्थलमा पुग्ने बताइएको छ ।

सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुत, कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम र जनकपुरधाम घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ । यसका साथै सम्मेलन अवधिभर पुस्तक, हस्तकला, मिथिला लोकचित्रको प्रदर्शनीसमेत हुने जनाइएको छ ।