बेमौसमी मकै फलेपछि खेती विस्तारमा किसान

1505
views

महेन्द्र जिसी
पर्वत,३, पुष । उमेरले ५२ नाघेकी फलेवास–४ मुडीकुवाकी देवी कुमारी गौडेलले हिँउदमा पनि वारीमा मकै फलेको कहिल्यै देखेकी थिईनन्, अहिले पनि हरियो मकैको स्वाद लिन पाउँदा गौडेल हर्षित छन । पहिलो पटक मंसीरमा फलेको मकै हो सवैलाई चखाउँछु उनले भनिन् । अहिलेसम्म साग र मुला फलाउने गरेको हिँउदमा यसपाली मकै फलाइयो भन्दै उनले खुशी ब्यक्त गरिन् ।

यस्तै मुडीकुवाकै ओम प्रसाद गौडेलले पनि यस पालाको मकै गाउँले बाटोमा आहोर दोहोर गर्नेलाई चखाएर सकेको बताए । यसपटक थाहा भयो हिउँदमा पनि मकै फल्दो रैछ भनेर । आगामी वर्ष व्यासायिक तरिकाबाट मकै खेती गर्ने उनले बताए ।

गत भदौमा लगाएको अरुण दुई जातको मकै फलेर घोँगा लागेपछि मकै फलेवास मकै जोन क्षेत्रका कृषकहरु हर्र्षित मात्रै भएका छैनन् कि नगदे बालीको अर्को बाटो समेत भेटिएकोमा खुशी छन् । मकै जोन परियोजना पर्वतले पहिलो पटक जिल्लामा हिउँदै मकै लगाएपछि कृषकहरु हर्षित बनेका हुन ।

स्थापनाको तेस्रो वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुडिकुवाले जिल्लामा पहिलो पटक हिउँदे मकै लगाएको हो । गत भदौ महीनामा लगाएको अरुण दुईले घोगा लागेर फल्न थालेपछि कृषकहरु विश्वस्त भएका हुन् ।

फलेवास नगर पालिकाका ६ वडालाई समेटीएको परियोजनाले परिक्षणका लागि मकै लगाएको थियो ।
लगाइएको मकै फलेपछि कृषकहरुले विस्वास्थ भएर क्षेत्रफल विस्तार गर्ने बनाएका हुन ।

गौडा पञ्चासे कृषक समुहका पदाधिकारीहरु मिलेर परीक्षणको रुपमा लगाएको मकै फलेर घोगा लागेपछि कृषकहरुले आर्थिक उपार्जनको अर्को माध्यम भएको बताएका छन् । विगतका वर्षमा गहुँ जौ लगाउने बारीमा यस वर्ष परीक्षणको रुपमा मकै फलाएर नगदे वालीको रुपमा आम्दानीको फरक बाटो पाएको किसानहरुले बताएका हुन ।

स्थानीय ओम प्रसाद गौडेलले कार्यालयको विस्वासमा १५ घरधुरीले ८ रोपनीमा लगाएको हिउँदै मकैले उत्पादन राम्रो दिएका कारण आगामी वर्षदेखी कृषकहरुको आम्दानी बढने अपेक्षा गरिएको बताए । वडाको ८ रोपनी क्षेत्रफलमा लगाइएको मकै फलेर खान योग्य भइसकेको जोन कार्यालयले जनाएको छ ।