काँग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिको तलब विपन्नको शिक्षामा

971
views

म्याग्दी, १२, पौष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफुले पाउने सेवा सुविधा सामाजिक काममा लगानी गर्ने भएका छन् । अध्यक्ष पुनले राज्यले जनप्रतिनिधिको तलबको रूपमा उपलब्ध गराएको रकम गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने निर्णय गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–६ घारस्थित मुक्तिमार्ग माविको ६० औँ वार्षिकोत्सवको अवसरमा भएको समारोहमा अध्यक्ष पुनले हालसम्म तलबभत्ता स्वरुप प्राप्त भएको रु सात लाख ३५ हजार कोषमा जम्मा गरेको जानकारी दिए ।

कोषबाट गत वर्ष पाउद्धार माविबाट एसइई उत्तीर्ण गरेका पाउद्धारका काजल रोकालाई इञ्जिनीयरिङ विषयको अध्ययनका लागि रु एक लाख पचास हजार सहयोग गरिसकेका छन् ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण राम्रो जिपिए ल्याएर एसइई उत्तीर्ण गरेका रोका आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न क्याम्पस भर्ना हुन नसकेर समस्यामा परेका थिए ।

यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले बगाएको अन्नपूर्ण–४ कोप्चेपानीको धौलागिरि आधारभूत विद्यालयको भवन पुनःनिर्माण र ज्ञानप्रकाश माविलाई रु ५०/५० हजार सहयोग गरेका छन् ।

गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सर्वोकृष्ट जिपिए ल्याउने एक÷एक जना छात्रछात्रालाई रु ५०÷५० हजार पुरस्कार उपलब्ध गराउने अध्यक्ष पुनले बताए ।

गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ । तलबका अतिरिक्त विभिन्न बैठक, कार्यक्रममा सहभागी हुँदा प्राप्त गरेको भत्तालाई पनि उनले कोषमा जम्मा गरेका छन् । पुन विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।