रानीपोखरीमा ब्यङ्गात्मक फुटबल, पुनर्निमाण गर्न नेविसंघको दबाब

856
views

काठमाण्डौं– रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेलेका छन् ।

ऐतिहासिक पुरातात्विक महत्वको रानीपोखरीको स्वरुप २०७२ को भूकम्पले ध्वस्त भएपछि पूननिर्माण नभएको भन्दै व्यङ्ग स्वरुप फुटबल खेलेका हुन् ।

नेपाल विद्यार्थी संघले सरोकारवाला निकायलाई पूननिर्माणको लागि दबाब स्वरुप रानीपोखरीमा फुटबल खेलेका हुन् । रानीपोखरीको पुननिर्माणको जिम्मा काठमाण्डौ महानगरपालिकाको भएपनि महानगरका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खडकीकाबीच रानीपोखरीलाई कसरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद छ ।

पुरातत्व विभागले रानीपोखरी लगायतका ऐतिहासिक महत्वका संरचनाहरुलाई पुनर्निर्माण गर्दा पहिलेकै स्वरुपमा वनाउनुपर्ने भन्दै आएको छ । तर महानगरपालिकाले रानीपोखरीको पर्खाल निर्माणका क्रममा आधुनिक निर्माण समाग्री कंक्रिटको प्रयोग गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।