प्याक्टको १० लाख झ्वाम पार्ने तरिका

अनुदानको फार्म बेचेर नयाँ दर्ता

1569
views

पर्वत, २९, पुस । कृषि फार्म सञ्चालन पश्चात राज्य कोषबाट दशलाख अनुदान पाएका पुराना कृषकहरु अर्को अनुदानका लागि नयाँ तरिका अपनाएका छन् । गतबर्ष सरकारले व्यवासायीक व्यापार तथा कृषि आयोजना मार्फत कृषकहरुका लागि १० लाख अनुदान वितरण गरेको थियो । उक्त अनुदान झ्वाम पारेका कृषकहरुले पुरानो फार्म बिक्रि गरेर नयाँ फार्म दर्ता गरेका छन् ।

व्यापार आयोजना मार्फत रु. दशलाख अनुदान पाएको बर्षदिनमै पुराना फर्म आफन्तलाई बिक्रि गरेर अनुदानका लागि नयाँ फार्म तयार गरेको फेला परेको छ । गएको बर्षमा व्यापार आयोजना प्याक्ट मार्फत सरकारबाट १० लाख अनुदान पाएका मोदी पाँच आम्बोटको नमुना कृषि सहकारी संस्था, कुश्मा नगरपालिका–७ को स्वर्ग अर्गानीक पशु तथा कृषि फार्म र कुश्मानगरपालिका–४ को कालिगण्डकी तरकारी फार्म बिक्रि भएको पाइएको छ ।

सरकारले अनुदान पाएका फार्मलाई पाँचबर्ष सम्मको निरन्तरता हुनुपर्ने मापदण्ड बनाएको भएपनि सञ्चालकहरुले बर्षदिनमै अनुदान लिई फार्म बिक्रि गरेका हुन् ।

सरकारले एउटै फर्मलाई पटक पटक अनुदान नदिने भएपछि फार्म सञ्चालक कृषकहरुले यस्तो तरिका अपनाएका हुन् । । गतबर्ष व्यापार आयोजनाले पर्वतमा कृषिमा ७ र पशु क्षेत्रमा ९ फर्मलाई रु. दश लाखका दरले अनुदान वितरण गरेको थियो ।

मोदी पाँच आम्बोटमा रहेको नमुना कृषि सहकारी संस्थाका पूर्व सञ्चालक लालबहादुर हरिजनले फार्म विस्तार गर्न लाग्दा आर्थिक अभाव भएपछि अरुलाई जिम्मा लगाएको स्विकार गरे ।

दशलाख अनुदान पाएका कृषकले पुरानो फार्म बिक्रि गर्ने र नयाँ स्थापना गर्ने होड चलेको छ । आवश्यक अनुगमन र नियमनको अभाबमा कृषकहरुले अनुदान पाएपछि फर्म धमाधम विक्रि गर्न लागेका हुन् । प्रदेश कृषि मन्त्रालयबाट जारी मोर्डन कृषि फार्मका लागि आवेदनको सूचना भएपछि अनुदान पाएका पूर्व सञ्चालकहरुले यस्तो तरिका अपनाएका हुन् ।

यता कृषि ज्ञान केन्द्रले भने पुरानो अनुदान पाएका फर्महरुले भने मोर्डन कृषि फार्म बनाएपनि अनुदान नदोहोरिने जनाएको छ ।

ज्ञान केन्द्रका सूचना अधिकारी नारायण प्रसाद पौडेलले प्याक्टले नै अनुगमनको जिम्मा पाएकोले कृष ज्ञान केन्द्रलाई भने कुनै जानकारी नभएको र गतवर्ष अनुदान पाएका कृषकहरलार्य पून अनुदान दिन नहुने बताए ।