‘सुइरोले’ प्लास्टिकबाट टायल उत्पादन

779
views

चितवन,माघ–५ प्लास्टिकजन्य फोहोरले वातावरण प्रदूषण बढाएपछि त्यसको न्यूनीकरणका लागि ‘सुइरो कार्यक्रम’ले आधुनिक प्रविधिमार्फत टायल उत्पादन गर्न सकिने उदाहरण सार्वजनिक गरेको छ । शुक्रबार सम्पन्न १२औँ चितवन महोत्सवमा एउटा स्टल नै राखेर प्लास्टिकबाट टायल उत्पादन गरेर प्लास्टिकजन्य फोहोरबाट मोहोर उत्पादन गर्न सक्ने उदाहरण देखाइएको हो ।

चितवनमै पहिलोपटक चितवन महोत्सवमा परीक्षणका लागि स्टल राखेर टायल उत्पादन गरिएको सुइरो कार्यक्रमका संयोजक डिल्लीराम सापकोटाले जानकारी दिए । आधुनिक प्रविधिको मेसिनबाट सजिलै टायल उत्पादन गर्न सकिने उनले बताए । नफुट्ने र नकुहिने हुँदा सिमेन्टबाट बनेको टायलभन्दा उच्चस्तरको टायल बनेको उनले दाबी गरे ।
उनका अनुसार हाल मूल्य निर्धारण नगरिए पनि सरदर सिमेन्टबाट बनेको टायलकै मूल्यबराबरमा प्लास्टिकको टायल पाइने छ । यसले ८ टनसम्मको क्षमता थेग्न सक्ने उनले दाबी गरे ।
प्लास्टिकजन्य फोहोर जलाउँदा वा नजलाउँदा दुवै किसिमले वातावरणमा प्रत्यक्ष असर पुग्ने हुँदा यो प्रविधिमार्फत टायल बनाउँदा वातावरण प्रदूषणमा कमी आउने उनले बताए । ‘यो प्रविधिमार्फत टायल बनाउँदा धूलो, धूवाँ नहुने भएकोले वातावरणमा असर पर्दैन’, उनले भने, ‘त्यसैले, स्थानीय सरकार वा यहाँका निजी क्षेत्रले यसबारे ध्यान दिने हो भने वातावरण प्रदूषण पनि कम हुने र फोहोर व्यवस्थापन गर्न पनि सजिलो हुन्छ ।’
प्लास्टिकजन्य फोहोरलाई सुइरोले ल्याएको अवधारणाअनुसार व्यवस्थापन गर्ने हो भने पनि बजारमा प्लास्टिकजन्य फोहोर अधिकतम कम हुने उनले दाबी गरे । ‘हरेक स्थानमा फोहोर हुने भनेकै ९० प्रतिशत प्लास्टिकजन्य पदार्थले गर्दा हो’, उनले भने, ‘त्यसैले, यसको प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सके वातावरण प्रदूषण ज्यादै कम हुन्छ ।’
व्यक्तिको घरबाट उत्पादन भएका फोहोरलाई संकलन गरेर सुइरोलाई बिक्री गर्न सकिने हुँदा प्लास्टिकजन्य फोहोरलाई घरमै संकलन गरेर सुइरोलाई बेच्न सकिने उनको भनाइ छ । सुइरोले ल्याएको यो अवधारणाबाट आयआर्जन गर्न सकिने भएकोले लगानीकर्तासमेत सुरक्षित रहने भन्दै उनले भने, ‘सामथ्र्य भएको कुनै पनि संघसंस्थाले यसमा लगानी गरे भरतपुर महानगरले ल्याएको स्मार्ट सिटीको अवधारणालाई सफल बनाउन सहयोग पुग्न सक्छ ।’
सुइरोले महोत्सवको ११औँ संस्करणमा प्लास्टिक प्रशोधन गरेर डोरी, बिजुली वायरिङ पाइप, ढलान प्लास्टिक, जर्किनलगायतका विभिन्न खालका सामग्री बनाएर देखाएको थियो । त्यसका लागि प्लास्टिकलाई प्रशोधन गर्नुभन्दा पहिले सफा गर्नुपर्ने बाध्यता थियो । तर, अहिलेको प्रविधिबाट भने प्लास्टिकलाई सफा गर्नु नपर्ने भएकोले अझ सजिलो भएको उनको भनाइ छ । २०५९ सालदेखि सुइरोले प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि काम गर्दै आइरहेको छ ।
अहिलेसम्म भरतपुर तथा नारायणगढ क्षेत्रका विभिन्न टोल विकास संस्थाले प्लास्टिक संकलन गरेर सुइरोलाई उपलब्ध गराउँदै आएका छन् । अहिले चितवनमा सरदर मासिक १० टन प्लास्टिक सुइरोले मात्रै संकलन गर्दै आएको संयोजक सापकोटाले बताए ।