सीमा अतिक्रमित क्षेत्रमा अभियान टोली

605
views

कञ्चनपुर,९ फागुन । मेची महाकाली जनजागरण अभियानको टोलीले कञ्चनपुरको पुनर्वास–४ गोविन्द बजारभन्दा अगाडि रहेको बिबादित सीमा क्षेत्रमा भ्रमण अवलोकन गरेको छ । अबलोकन भ्रमणसँगै नेतारुले सीमा रक्षाका लागि जस्तो सुकै आन्दोलन गर्न र बलिदानी गर्न पनि तयार रहेको बताएका छन् ।

यसै क्रममा जनभेटघाटमा भेटिएका जनताले पनि देशको सीमा बचाउनमा लाग्ने पार्टीलाई आफ्नो साथ रहने बताएका छन् । स्थानीय जनताको भनाइ छ– ‘सीमा बचाउको अभियान लिएर हिंडेको पार्टीलाई यो वा त्यो नभनी हाम्रो सदा साथ र सहयोग रहने छ ।’ उनीहरुले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका नेताहरुलाई अभियानको सफलताको शुभकामना पनि दिएका छन् ।

स्थानीय जनताले देशमा सरकार भएको भनिए तापनि सीमानामा नेपाल सरकारको उपस्थिति नभएको र आफूहरु नै विना बर्दी र विना हतियारका सेना भएर देशको सीमा रक्षा गरिरहेको बताएका थिए । पुनर्वासका बजार व्यवस्थापक सुरतबहादुर मल्लले पुनर्वासका जनता नबसेको भए भारतले निकै धेरै सीमाना मिचिसक्ने बताए ।

त्यसै गरी, स्थानीय चक्रबहादुर शाहीले स्थानीय छिमेकी मानवहादुर विश्वकर्माको ४ बिघा जमीन भारतले मिचेर खाइरहेको बताए । उनका अनुसार उनले थाह पाएदेखि ४२ वर्ष पहिलेदेखि निरन्तर सीमा मिचिइरहेको छ ।