फलेवास नगरपालिकाले रोक्यो ओजेटी विद्यार्थीको रकम

1279
views

पर्वत । ओजेटिका विद्यार्थीहरुले पाउनुपर्ने रकम नआएपछि फलेवास नगरपालिका–४ को श्री माटेदेवल जनसहयोगी (प्राविधिक तथा व्यावसायिक) माध्यमिक विद्यालय मुडिकुवाका विद्यार्थीहरु आक्रोषित बनेका छन् ।

प्रति विद्यार्थी १५ हजार रुपैयाँका दरले २३ जना विद्यार्थीको तीनलाख ४५ हजार रुपैयाँ उपलब्ध नभएपछि विद्यार्थीहरु आक्रोषित बनेको विद्यार्थी समुन विकले बताए ।

फलेवास नगरपालिकाले उपलब्ध गराउनुपर्ने सो रकम उपलब्ध नभएपछि ओजेटी सकेर बसेका विद्यार्थीहरुले रकम उपलब्ध गराउन माग गरेका छन् ।

प्रति विद्यार्थीका लागि आउने रकममा विद्यालयले पाँच हजार रुपैयाँ राख्दछ आई.एस.सी.एजी.का विद्यार्थी विकले भने ‘१२ कक्षाको ओजेटी (OJT) सकेपछि १२ सय घण्टा ओजेटी गर्नुपर्दछ, हामीले कृषि अनुसन्धान केन्द्र लुम्लेमा ओजेटी गरियो तर अहिलेसम्म रकम उपलब्ध भएको छैन् ।’

माटेदेवल जनसहयोगी (प्राविधिक तथा व्यावसायिक) माध्यमिक विद्यालयसँगै ओजेटी गरेका मुस्ताङ्गका विद्यार्थीहरुले भने सो रकम पाईसकेका छन् । यता विद्यालयका अनुसार फलेवास नगरपालिकामा पैसा भएको तर नगरपालिकामा ओजेटीको रकम विनियोजन गर्ने शिर्षक नभएकोले विद्यार्थीले पाउनुपर्ने रकम रोकिएको जनाएको छ ।

श्री माटेदेवल जनसहयोगी (प्राविधिक तथा व्यावसायिक) माध्यमिक विद्यालयमा अघिल्लो बर्ष ओजेटी गरेका विद्यार्थीहरुले भने रकम पाएका छन् । दोस्रो व्याचमा सहभागी यी विद्यार्थीहरुले भने रकम नपाउँदा अन्योल भएको छ ।