राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाको प्रधानमन्त्रीले गरे बटन थिचेर ‘ब्रेक थ्रु’

600
views

सुर्खेत, ३, वैशाख । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा बटन थिचेर टनेल बोरिङ मेसिमन (टिबिएम) निकालेसँगै सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन् ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिनमार्फत् सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न गरेको थियो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत् बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा र्पुयाउने उद्देश्यले आयोजना सुरु भएको हो ।

४६.८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युतगृह निर्माण कार्यको प्रक्रिया सुरू भइसकेको छ ।

सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युतको आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिंचाई उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने जनाएको छ ।