भूकम्पका चारबर्ष पुरा, यस्तो छ पूनर्निर्माणको गति

960
views

काठमाडौं । २०७२ सालमा नेपालमा गएको विनासकारी भूकम्पका आज चारवर्ष पुरा भएर पाँचौं बर्षमा प्रवेश गरेको छ । गोरखा बारपाक केन्द्र विन्दु बनाएर आजकै दिन ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढीको ज्यान लिएको थियो ।

भूकम्पका कारण नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएका थिए । भूकम्पका कारण भगनावशेष संरचनाहरुको पूननिर्माका लागि सरकारले पाँच बर्षभित्र पुनर्निर्माण गरिसक्ने बताएको थियो । तर, सरकारले समयसिमाभित्र पूननिर्माणका काम गर्न सकिरहेको छैन् ।

विश्वभरबाट जुटेको सहयोगमा समेत सही व्यवस्थापन र परिचालन हुन नसक्दा चार बर्षमा पनि पुनर्निर्माणको दिशामा लक्ष्यको नजिक पुग्न नसकेको हो । निजी आवास, सरकारी भवन र सम्पदाहरुको पुनर्निर्माण तोकिएको समयभित्रै नसकिने भएको छ ।

पुनर्निर्माण प्राधिकरणले भने प्रगति सोचेअनुरुपकै रफ्तारमा अघि बढिरहेको दाबी गरेको छ । प्राधिकरणका अनुसार हालसम्म समग्रमा ६५ प्रतिशत पुनर्निर्माण सम्पन्न भइसकेको जनाएको छ ।

निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको प्राधिकरणको दावी

पूननिर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेको दावी गरेको छ । जसममध्ये अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घर परिवारमध्ये ६ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेका छन् । जसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवार घरभित्र प्रवेश गरिसकेको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेका छन् । भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ । जसमा ५९ प्रतिशत अर्थात ४ हजार ४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको र १ लाख ७७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले बताएको छ ।

स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेको जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न गरेका र १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशतमात्रै उपलब्धी हासिल गरेको प्राधिकरणले बताएको छ । जसमा २२४ वटा अर्थात ३० प्रतिशतमात्रै पुनर्निर्माण सम्पन्न भएका छन् भने २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

आर्थिक वर्ष ०७४–७५ सम्म कुल १ खर्ब ८६ अर्ब रकम खर्च

पुनर्निर्माणका लागि कूल ९ खर्ब ३८ अर्ब रकमको आंकलन गरिएकोमा आर्थिक वर्ष ०७४–७५ सम्म कुल १ खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा १ खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको प्राधिकरणले जनाएको छ ।

यस्तै, सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबाट करिव २ सय अर्ब रुपैयाँ परिचालन हुने अपेक्षा गरेको प्राधिकरणले बताएको छ । यस हिसाबले पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव ४ खर्ब २९ अर्ब रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले बताएको छ ।