एनसिई नेपाल पर्वत दुई बालबालिकाको शैक्षिक अभिभावक

810
views

निर्मल पौडेल
पर्वत, १३, वैशाख । सार्वजनिक शिक्षाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल पर्वतले स्थानीय विद्यालयमा अध्ययन गर्ने दुईजना बालबालिकाको शैक्षिक अभिभावकत्व लिएको छ ।

शुक्रवार एनसिई नेपाल पर्वतले कुश्मा नगरपालिका वडा नं ५ स्थित बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा १ का बिनिता नेपाली र कक्षा ३ का साजन माझीको संस्थागत अभिभावकत्व लिएको हो ।

बालबालिकाको अभिभावकत्व लिएको एनसिई नेपाल पर्वतले आज एक कार्यक्रमका बीच बालबालिकाहरुलाई झोला, पोशाक, स्टेशनरी सामग्री तथा सरसफाई सामग्री उपलब्ध गराएको छ । कार्यक्रममा वोल्दै एनसिई नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीले प्रारम्भिक चरणमा रु. एकलाख बीस हजारको अक्षयकोष स्थापना गरेर बालमन्दिर प्राविका दुईजना बालबालिकालाई सहयोग उपलब्ध गराइएको र यो सहयोग उनीहरुलाई दश कक्षा अध्ययन गर्ने समयसम्म उपलब्ध गराउने संस्थागत प्रतिबद्धता जनाए ।

अभिभावकत्व ग्रहण तथा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रकला भारती शर्माले शिक्षा नै सबैखाले विकासको मेरुदण्ड भएकाले शिक्षाक्षेत्रमा सुधार गर्न सबै सजग भएर लाग्नुपर्ने कुरामा जोड दिइन् ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले शिक्षा पाउनु सबैको अधिकार भएकाले कठिन अवस्थामा रहेका बालबालिकालाई विद्यालय भर्ना गर्ने र उनीहरुले बिना बाधा व्यवधान पढ्न पाउने वातावरण सुनिश्चित गर्न यस्ता सहयोगले ठूलो महत्व राख्ने वताए ।

कार्यक्रममा जिल्ला बाल संगठनका सभापती तथा बालमन्दिर प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माले आफ्नो नेतृत्वमा विद्यालयको सुधार अभियान चलिरहेको अवस्थामा एनसिई नेपालजस्ता सहयोगी संस्थाहरुको साथले भिभावकत्व पाउने बताए ।

कार्यक्रममा एनसिई नेपाल जिल्ला समन्वय समिति पर्वतका सदस्य–सचिव यज्ञप्रसाद शर्माले एनसिई नेपालको अभियान, विश्वव्यापी कार्यसप्ताह र विद्यार्थी भर्ना अभियानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा एनसिई नेपाल पर्वतका सदस्यहरु जगन्नाथ शर्मा, भिमबहादुर नेपाली, एकनारायण चालिसे, बलिनारायण रेग्मी, ऋषिराम भुसाल, रमेशप्रसाद रिजाल, विद्यालयका प्रअ लोकबहादुर राना, सञ्चारकर्मी सन्तोष थापा, सञ्जय रेग्मी, बालबालिकाका अभिभावक अर्जुन नेपाली र गंगा माझीसहित विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।