मदरसा विद्यालयमा शैक्षिक अन्तरक्रिया सम्पन्न

800
views

निर्मल पौडेल
पर्वत, १४, बैशाख । मदरसा श्री मदरसा गुल्शने बरकात प्राथमिक विद्यालय, कुश्मामा शैक्षिक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०७६ को सन्दर्भमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल पर्वतले उक्त शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुका बीचमा मदरसा विद्यालयका अवसर, चुनौती र सम्भावनाका विषयमा छलफल गरिएको एनसिई नेपाल पर्वतका सदस्य भिमबहादुर नेपालीले जानकारी दिनुभयो ।

विसं. २०६५ सालदेखि सञ्चालनमा रहेको र २०६८ सालबाट सरकारी अनुमती प्राप्त सो विद्यालयले आजका दिनसम्म सरकारबाट शिक्षक दरबन्दी पाउन सकेको छैन । मुस्लीम समुदायका ४२ जना बालबालिकाले मातृभाषामा आधारभूत तहको धार्मिक शिक्षा लिइरहेको विद्यालयको आफ्नै भवन नभएकाले मस्जिदमा राखेर पठनपाठन गरिरहेको मदरसा व्यवस्थापन समितिका अध्यक्ष असलम खानले बताउनुभयो । पछिल्लो समयमा कतैबाट पनि आर्थिक सहयोग नजुटेकाले आफूले विगत चार महिनादेखि पारिश्रमिक पनि नपाएको विद्यालयका शिक्षक मौलाना अली अकबर बरकातीले गुनासो गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्माले आफूले निकट भविश्यमा नै विद्यालयको भवन निर्माण गर्नका लागि उपयुक्त जमिनको व्यवस्था गर्ने र स्थानीय सरकारको तर्फबाट आवस्यक सहयोग जुटाउन अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । एनसिई नेपालका बोर्ड सदस्य तथा जिल्ला संयोजक राजेन्द्र पहाडीले संबैधानिकरुपमा नै आधारभूत तहको शिक्षा अनिवार्य तथा निशुल्क भनिएकाले सो को कार्यान्वयनमा स्थानीय सरकारले बहानाबाजी गर्न नहुने कुरामा जोड दिनुभयो । मातृभाषामा प्राथमिक तहको शिक्षा पाउने बालबालिकाको नैसर्गिक अधिकारलाई सुरक्षण गर्न पनि जिल्लाको एकमात्र मदरसालाई व्यवस्थित गर्न वडा कार्यालय र नगरपालिकाको जिम्मेवारी भएको उहाँले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा मदरसा व्यवस्थापन समितिका सदस्यहरुले आफ्नै भवन नहुनु, फर्निचरको व्यवस्था नहुनु, सरकारले शिक्षक दरबन्दीको व्यवस्था नगरिदिनु, नियमति आयश्रोतको व्यवस्था नहुनु आदि कारणले आफ्नो विद्यालय विद्यलायजस्तो हुन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा एनसिई नेपाल, पर्वतका सदस्य–सचिव यज्ञप्रसाद शर्मा, सदस्य भिमबहादुर नेपाली र बलीनारायण रेग्मीले पनि आ–आफ्नो मन्तव्य राख्दै एनसिई नेपालका गतिविधि, विश्वव्यापी कार्यसप्ताह र विद्यार्थी भर्ना अभियानका बारेमा प्रष्ट पार्नु भएको थियो । विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई एनसिई नेपाल, पर्वतको तर्फबाट स्टेशनरी सामग्री वितरण गरिएको थियो ।