निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने तयारी

574
views

काठमाडौँ,५,जेष्ठ ।– आपूर्ति मन्त्रालयले फेरि निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गरी बिक्री वितरणको जिम्मेवारी दिने तयारी गरेको छ । आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालेको प्रधानमन्त्री कार्यालयबाट निजी क्षेत्रलाई नेपाल आयल निगमको हैसियत सरह इन्धन कारोबार गर्ने अनुमति प्रदान गर्नुपर्ने दबाब परेपछि आपूर्तिले अनुमति प्रदान गर्ने तयारी गरेको हो । यसअघि पनि सरकारले निजी क्षेत्रलाई इन्धन आयात र बिक्री गर्न अधिकार दिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएको छ । उच्च स्रोतका अनुसार निजी क्षेत्रसँग मिलोमतो गरी प्रधानमन्त्रीको दबाबमा आपूर्ति मन्त्रालय निजी क्षेत्रलाई अनुमति प्रदान गर्ने गृहकार्यमा जुटेको हो । सत्ता परिवर्तनको अवस्थामा पुगेको समयको सदुपयोग गर्दै केही पहुँचवाला समूहको प्रभावमा परी प्रधानमन्त्री कार्यालयको दबाबमा मन्त्रालयले फेरि निजी क्षेत्रलाई भारतलगायत तेस्रो मुलुकबाट आयात गरी डिजेल, पेट्रोल, मट्टीतेल, खाना पकाउने ग्यासको बिक्रीतिरण गर्ने अनुमति दिन लागेको हो । आपूर्ति मन्त्रालयको भूमिका समेत निर्वाह गरिरहनुभएका प्रधानमन्त्री तहबाटै निजी क्षेत्रलाई इन्धनको आयात गर्न र बिक्रीवितरण गर्ने अनुमति प्रदान गर्ने तयारी सुरु भएको छ’, आपूर्ति मन्त्रालय स्रोतले भन्यो, ’निजी क्षेत्रलाई अनुमति प्रदानका लागि ठूलो रकमको चलखेल सुरु भएको छ । इन्धन अनुमतिका लागि मन्त्रिपरिषद्को बैठकमै लबिङ सुरु भएको छ ।’