पहिलोपटक बसमा प्राथमिक औषधी दिन थालियो

711
views

सिताराम थापा
बागलुङ । जिल्लामा नेपालमै पहिलोपटक बागलुङदेखि चल्ने बसहरुमा औषधीको बक्स राख्न सुरु गरिएको छ । वेलनेश टिम काठमाडौंको सहयोगमा बुधबार धौलागिरी अञ्चल यातायात बस व्यवसायी समितिका दुईसय ओटा बसहरुमा औषधिको फस्ट एड बक्स (पहिलो सहायकता बाकस) राख्ने कार्य शुभारमणभ भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त बक्सहरु वेलनेश टिमकी अध्यक्ष नितु खड्का र बागलुङ नगरपालिका वडा न.- ३ को वडा अध्यक्ष लक्ष्मी बास्कोटाले बस ब्याबसायि समितिका अध्यक्ष उमेश केसीलाई हस्तान्तरण गरेका थिए ।

हरेक घर फस्ट एड बक्स भन्ने नाराका साथ नेपालमै पहिलो पटक बागलुङबाट बक्स वितरण सुरु गरिएको वेलनेष्टकी अध्यक्ष नितु खड्काले जानकारी दिइन । बसमा यात्रा गर्दा विच बाटोमा यात्रुहरु विरामी हुँदा प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले औषधिको बक्स वितरण गरिएको अध्यक्ष खड्काले बताइन् ।

अध्यक्ष खड्काले नेपालकै ७७ जिल्लाका हरेक घरमा फस्ट एड बक्स राख्ने योजना रहेको र त्यसको लागि फन्टको आवश्यकता परेर पहिलो चरणमा प्रति बक्स एक हजार रुपैयाँको दरले वितरण सुरु गरिएको जानकारी दिइन् ।

आफुलाई लागेको रोगको बारेमा जानकारी नहुँदा धेरै अस्पतालहरु धाउँदा धेरै खर्च लागेर उपचार्थ मुस्कील भएकोले यसको हन्त्य गर्न कार्यक्रमको आरम्भ गरिएको अध्यक्ष खड्काले जानकारी दिइन । स्वास्थ्यको बारेमा जनचेतना जगाउन र आफुलाई के रोग लागेको छ र कुन विशेषज्ञलाई जचाउँनुपर्दछ भन्ने जानकारी कार्यक्रमले प्रदान गर्नेछ । बक्स वितरणसँगै औषधिहरुको प्रयोगको बारेमा पर्चा सहित तालिम दिइने अध्यक्ष खड्काले जानकारी दिइन् ।

प्रति बक्स एक हजार रुपैयाँमा वितरण गर्ने जनाएको वेलनेशले आर्थिक अवस्था कमजोर भएको परिवारलाई न्यूनतम ५० रुपैयाँ सम्ममा वितरण गर्ने जनाएको छ ।

बक्समा सामान्य चोटपटक लाग्दा घाउँमा लगाउने औषधि, टाउँको दुःखेको, पेट दुःखेको, बमिट नआउने, जीवनजल, बल्ड प्रेसर लगायत १६ प्रकारका औषधि र औजारहरु रहेको वेलनेश टिमका सचिव ओमविक्रम खड्काले बताए ।

बसमा यात्रा गर्दा विरामी भएर यात्रुहरुलाई असहज हसन नदिन बसमा प्राथमिक उपचारका औषधिहरु राखिएको धौलागिरी अञ्चल यातायात बस ब्यवसायी समितिका अध्यक्ष उमेश केसीले बताए । बसमा बक्स राख्दा चालक र सहचालकलाई प्राथमिक उपचार गर्नुपर्दछ भन्ने सचेतना जगाउने उद्देश्य लिइएको अध्यक्ष उमेश केसीले बताए । उनले बसमा राखिएका औषधिहरु यात्रुहरुलाई निशुल्क वितरण गर्ने जानकारी दिए ।

वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नं–३ कि वडा अध्यक्ष लक्ष्मी बाँस्कोटाले अहिले चलेको अभियानले निरन्तरता पाउन सकेमात्र राम्रो हुने बताइन । ‘धेरै जस्तो कार्यक्रम केही समय चल्ने पछि आफै बन्द हुने समस्या रहेको छ,’ वडाअध्यक्ष बाँस्कोटाले भनिन् ‘यसलाई सबैले सहयोग गरेर भएपनि सधैभरी सञ्चालन गर्न जरुरी छ ।’

बागलुङदेखि काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, नारायणगढ, बिरगंज लगायतका ठाउँमा चल्ने समितिका यातायातमा सो औषधी बक्स राख्ने धौलागिरी बस ब्यबसायी समितिले जनाएको छ ।