आम्दानीको स्रोत यार्सा संकलनमा बझाङेली

545
views

बझाङ । बझाङेलीहरु यार्सा संकलन गर्न लेकतिर लागेका छन् । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी तीन महिनाका लागि लेकतिर लागेका हुन् । यो तीन महिना उनीहरुका लागि यार्सा संकलनको समय हो ।

यार्सा संकलनका लागि स–परिवार लेकतिर जाने गर्दछन् स्थानीय स्थानीय उमेश बोहराले भने ‘तीन महिना संकलन गरेको यार्साले एक बर्ष खान पुग्छ ।’

यहाँका धेरैजसो स्थानीयवासीले यार्सा संकलनबाटै सदरमुकाम चैनपुर, धनगढी (कैलाली), महेन्द्रनगर (कञ्चनपुर), काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन् ।

वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन्छन् । यहाँ पाखो जमिन भएका कारण उब्जनी हुँदैन । यहाँको मुख्य आम्दानीको स्रोत नै यार्सा हो ।

सुत्केरी महिला, हिँडडुल गर्न नसक्ने वृद्धवृद्धा र ससाना हिँडडुल गर्न नसक्ने बालबालिकाबाहेक सबै अहिलेको सिजनमा यार्सा संकलनका लागि लेकतिर लागेको स्थानीय कलकबहादुर बोहराले बताए ।

तीन महिनाका लागि विद्यालय बन्द
बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन् । विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द गरिएको हो ।

जिल्लाका साइपाल, सुर्मा गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् भने तल्कोट गाउँपालिका, बुङ्गल नगरपालिकाका केही विद्यालयसमेत बन्द भएका छन् । चैतको वार्षिक परीक्षा सकिएदेखि नै विद्यालय बन्द भएका हुन् । अब साउनमा विद्यालय खुल्ने र केही विद्यार्थीको भर्नाको काम पनि त्यतिबेला नै गर्ने गरिन्छ ।