चीनले ध्वस्त बनायो अमेरिकी खुफिया सञ्जाल, सीआइएका २० गुप्चरको हत्या गरेको दाबी

643
views

काठमाडौँ ७ जेठ । चीनले अमेरिकी खुफिया संस्था सीआइएको सञ्जाल ध्वस्त पार्न सफल भएको छ । दुई वर्षको अवधिमा चीनले सीआइएका १८ देखि २० जना हत्या गरेको अमेरिकाबाट प्रकाशति हुने न्यूयोर्क टाइम्स पत्रिकाले समाचार छापेको छ । जासुसी गर्न पठाएका सीआइएका गुप्तचरलाई चीनले हत्या वा जेल हालेर अमेरिकाको खुफिया सञ्जाल ध्वस्त पारेको अमेरिकी उच्च अधिकारीले बताएका छन् ।
सन् २०११ देखि चीन पठाएका अमेरिकी गुप्तचर हराउन थालेका हुन् । त्यसयता विशेष तालिम र प्रशिक्षणसहित चीनतिर पठाइएका र चीनमै जन्माइएका २० जना गुप्तचर हराएको बताइएको छ ।
अमेरिकाले यो घटनालाई दशकौंयता अमेरिकी गुप्तचर सुरक्षाले बेहोरेको सबभन्दा खराब क्षति भएको बताएको छ । यस घटनालाई अमेरिकाले विगतमा सोभियत युनियनका निम्ति अमेरिकी गोपनीयता भंग गरिदिएका सीआइएका एल्ड्रिक एम्स र एफबीआइका रोबर्ट हानसेनको घटनासँग तुलना गरेका छन् ।
एक जना अमेरिकी गुप्तचरलाई चीनले सरकारी कार्यालयमै उनका समकक्षीहरुका सामुन्ने गोली हानि मारेको समाचारमा बताइएको छ ।
पछिल्लो पटक चीनसँग अमेरिका निकै आतंकित छ । चीनले सीआइएको खुफिया सञ्चार प्रणाली ह्याक गरेको हुनसक्ने वा चीनका निम्ति कोही अमेरिकी गुप्तचरले नै सन् २०१० ताका ती सूचना चुहाइदिएको हुनसक्ने अमेरिकी अधिकारीको अनुमान छ ।
सन् २०१२ सम्म आइपुग्दा अमेरिकाको एउटा महत्वपूर्ण खुफिया सञ्जाल करिब करिब पूर्ण रुपमा ध्वस्त भएको बीबीसीले बताएको छ । यसबारे सीआइएले केही बोलेको छैन ।
चारजना पूर्व सीआइए अधिकारीहरुले उक्त समाचारपत्रसंग बोल्दै चिनियाँ कर्मचारीतन्त्रको भित्री तहमा रहेका सूचनाका सूत्रहरुबाट आइरहने सूचना सन् २०१० मा लगभग रोकिएको बताएका छन् । चीनका लागि तयार पारेका सुत्रहरु सन् २०११ को शुरुदेखि हराउन थालेको बताइएको छ । यसबारे पूर्व राष्ट्रपति बराक ओबामाले समेत चाँसो राखेको बताइएको छ ।