मुलुकमा समृद्धि ल्याउन खेलकूदको महत्वपूर्ण भूमिका– प्रचण्ड

518
views

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेपाल वादोरियो कराते संघले आयोजना गरेको चौथो अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै अध्यक्ष प्रचण्डले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकूद क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गर्दै युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने बताए । प्रचण्डले खेलकूद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको स्पष्ट पारे ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताए । सरकार खेल र खेलाडीको प्रात्साहनमा लागेको बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तराष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए ।

काठमाडौँ खेलकूद विकास समितिका अध्यक्ष धुव्र न्यौपानेले खेलकूद क्षेत्रमा लागेका खेलाडीलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसीले देश र विदेशमा नेपालको कराँते क्षेत्रलाई चिनाउन नेपाल वादोरियो कराँते संघले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका ३०० खेलाडीको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई सम्मान गरिएको थियो ।