बिजुलीका तार भूमिगत गर्ने काम शुरु

957
views

काठमाडौँ, २४, जेठ । सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्न नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कदेखि महाराजगञ्जसम्म विद्युतीय तार भूमिगत गर्ने सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । विद्युतीय तार भूमिगत गर्ने कार्यसँगै सञ्चार प्रयोजनका लागि प्रयोग गरिने तार पनि भूमिगत गर्ने कार्य एकैपटक हुने भएको छ । भारतको केईआई इन्डस्ट्रिज, इन्डियासँग विद्युत् तार भूमिगत गर्न ठेक्का सम्झौता भई वैशाख १२ गतेबाट काम सुरु भइसकेको छ ।

सो कम्पनीले ३० महिनाभित्र योे काम सम्पन्न गरिसक्नुपर्ने छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले हाल पोलबाट विद्युत्को तार तान्ने वितरण प्रणालीले सहर कुरूप र असुरक्षित बन्दै गएको अहिलेको अवस्थामा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित काठमाडौँ उपत्यकाको विद्युतीय तार भूमिगत गर्ने कार्य तीव्रताका साथ अगाडि बढिरहेको जानकारी दिनुभयो ।

“तार भूमिगत गर्नु सहरको शोभाका लागि मात्र नभई ठाउँको अभाव हुँदै गएको अहिलेको अवस्थामा आजको आवश्यकता पनि हो”– उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाभरि विद्युतीय तार भूमिगत गर्ने योजना प्राधिकरणको रहेको बताउँदै प्रवक्ता अधिकारीले अहिले प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तार भूमिगत गर्ने काम सुरु भइसकेको जानकारी दिनुभयो । अहिले कुन तार कहाँबाट कसरी लैजाने भन्नेबारे विस्तृत सर्वेक्षण भइरहेको छ ।

सर्वेक्षणको काम असार १ गतेसम्म सम्पन्न हुने प्राधिकरणले जनाएको छ । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा प्राधिकरणका ९८ हजार ग्राहक रहेका छन् । एसियाली विकास बैङ्क (एडीबी) को १२ करोड अमेरिकी डलर सहयोगमा सुरु भएको यो भूमिगत कार्यअन्तर्गत रत्नपार्क वितरण केन्द्रको तार भूमिगत गर्न दुई करोड ५० लाख डलर र महाराजगञ्ज वितरण केन्द्रको तार भूमिगत गर्न दुई करोड २० लाख डलर खर्च हुने र बाँकी रकमले अन्य केन्द्रबाट वितरित तार भूमिगत गरिने जानकारी प्रवक्ता अधिकारीले दिनुभयो ।

सडक खन्नु पर्दैन
तार भूमिगत गर्न मेलम्ची खानेपानीको जस्तो बाटो खन्नु नपर्ने बताउँदै प्रवक्ता अधिकारीले यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्राविधिबाट निश्चित दूरीमा ठाउँठाउँमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइनेछ ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका केवल तार छिराइने प्राधिकरणले जनाएको छ । नेपालमा पहिलोपटक तार भूमिगत गर्ने कार्य भइरहेको छ । सञ्चार प्रयोजनका लागि प्रदायक संस्थाले नेपाल विद्युत् प्राधिकरणलाई सोबापत निर्धा्रित रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तार भूमिगत गरिनेछ । सडक पेटीमा मात्र भूमिगत गरिने भएकाले मूल सडक नखनिने स्पष्ट पार्दै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबरसमेत बिछ्याउने जानकारी दिनुभयो । अप्टिकल फाइबर बिछ्याइसकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ ।

पाँच केन्द्रका लागि बोलपत्र आह्वान
काठमाडौँ उपत्यकालाई नै विद्युत्को कुरूप तार सन्जालबाट मुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको रहेको बताउँदै प्रवक्ता अधिकारीले काठमाडौँका अन्य पाँचवटा वितरण केन्द्रका तार पनि भूमिगत गर्ने कार्यका लागि ग्लोबल बोलपत्र आह्वान भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार, बानेश्वर, कुलेश्वर, बालाजु, जोरपाटी र पुल्चोक वितरण केन्द्रका तार भूमिगत गर्न जेठ ७ गते ग्लोबल बोलपत्र आह्वान गरिएको थियो । गोरखापत्र अनलाईनबाट