कुश्मा नगरपालिकाको बजेट ७९ करोड

884
views

महेन्द्र जि.सी.
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले स्याटेलाईट सिटीको रुपमा विकास गर्ने कार्यक्रम सहित आर्थिक बर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौथो नगरसभामा आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरिएको हो ।

गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकामा अत्यधिक चाप बढ्न थालेपछि महानगर वरपरका पर्वतको कुश्मा र फलेवास, स्याङजाबजार, तनहुँको शुक्लागण्डकी र लमजुङ्गको मध्य नेपाल नगरपालिकालाई स्याटेलाईट सिटीको रुपमा बिकास गर्न बजेट बिनियोजन गरेको छ ।

कुश्मालाई अग्ला पुलहरुको शहर र सहासिक पर्यटनको गन्तब्यको रुपमा विकास गर्ने लक्ष्य समेत नीति तथा कार्यक्रमले लिएको छ । यसका लागि पर्यटकीय पर्वाधारको निर्माण तथा प्रचारप्रसारको कामलाई अघि बढाउने कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले संघ र प्रदेशको साझेदारीमा ब्यवस्थित शहर बनाउने सडकहरुको गुरुयोजना बनाउने र एकिकृत पुर्वाधार विकास गुरुयोजनालाई अगाडी बढाउने भएको छ । कुश्मा बजारमा सबै किसिमका भवन निर्माण गर्दा अनिवार्य स्विकृति लिनुपर्ने कुरामा कडाई गर्ने भएको छ ।

नगरपालिकाभित्र स्विकृति नलिई भवन बनाउने काम तिब्र रुपमा भैरहेको छ भने पुराना भवनहरुको अभिलेखीकरण समेत हुन सकिरहेको छैन । नीति तथा कार्यक्रममा कुश्मा नगरपालिकालाई खुलल्ला प्लाष्टिक र सिसामुक्त बनाइने उल्लेख छ । अहिलेसम्म कुश्मालाई स्वच्छ, सफा र हराभरा नगरपालिकाको रुपमा विकास गर्न आधुनिक प्रविधियुक्त फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने उल्लेख छ । पिपलटारीमा बर्थिङ्गसेन्टर सञ्चालन गर्ने र नगरपालिका भित्रका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्यचौकीको स्तरउन्नति गरिने भएको छ ।

नीति कार्यक्रम प्रस्तुत गर्दैै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले नगरबासीको शिक्षा स्वाथ्यमा विषेश आयोजनाका सात सरकारी शिक्षा र स्वाथ्यमा सुधार ल्याईने बताए ।

आगामी अर्थिक वर्षका विभिन्न १५ वृहत योजनामा सम्पन्न गराउनको लागि कुल ७९ करोड ८ लाख आयको अनुमान गरिएको नगर उपप्रमुख सिता काफ्ले लामिछानेले बजेटमा प्रस्तुत गरेकी थिईन् ।

कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्षमा २ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरि प्रोजेक्टरबाट पढाउने ब्यबस्था मिलाउने भएको छ भने न्यून विद्यार्थी भएका विद्यालयलाई एकिकरण र समायोजन गर्ने भएको छ ।

नगरपालिकाले एक वडा एक नमुना कृषि फार्म बनाउने, आगामी दुई बर्षभित्र कुस्मालाई दुग्धजन्य पर्दा, अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना पनि ल्याइएको छ । प्रत्येक वडामा एकएक वटा पकेट क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य समेत नीति तथा कार्यक्रमले लिएको छ ।