जनपक्षीय कवि, सांस्कृतिककर्मी तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १५ औं स्मृति दिवस मनाइयो

774
views

काठमाण्डौ, १३ जेठ । जनपक्षीय कवि, सांस्कृतिककर्मी तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को १५ औं स्मृति दिवसका अवसरमा राजधानीमा संयुक्त प्रभातफेरी गरिएको छ । काठमाडौंमा नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीमा आबद्ध पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । ईच्छुक दिवसमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली पत्रकारिता जगतले जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई कहिल्यै विर्सन नसक्ने बताए । देशमा लोकतन्त्र र गणतन्त्रको स्थापना तथा प्रेस स्वतन्त्रताका पक्षमा सेनले पु¥याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरे ।
पत्रकार सेनकी जीवन संगिनी तक्मा केसीले सेनका हत्यारालाई कारबाही गर्न थप आवाज उठाउनुपर्ने र संगठित भएर जानुपर्नेमा जोड दिइन् । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले कृष्ण सेन ‘इच्छुक’ महान आदर्शबाट कहिल्यै पनि बिचलित नहुने बताउँदै सेनका सपना साकार पार्नका लागि संगठन सधैं क्रियाशील रहने उल्लेख गरे ।
प्रेस सेन्टरका उपाध्यक्ष गोबिन्द आचार्यले सेनको आदर्श रक्षाका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने, प्रेस सोसाइटीका केशव अर्याल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डन्ड गुरुङ लगायतले सेनको व्यक्तित्व र पत्रकारितामा सेनको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले स्वर्गिय पत्रकार कृष्ण सेन इच्छुककी पत्नी तक्मा केसीलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गरे ।
कार्यक्रममा जनयुद्धको बेला सिन्धुलीबाट बेपत्ता पारिएका पत्रकार चित्रनारायण श्रेष्ठकी पत्नी सावित्री श्रेष्ठ र जनयुद्धका घाइते पत्रकार दिपेन्द्र रावललाई कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार २०७४ समेत प्रदान गरिएको थियो ।