अमेरिकासँगको आणविक वार्ताप्रति उत्तर कोरियाको असहमति

513
views

उत्तर कोरिया । उत्तर कोरियाले अमेरिकासँगको आणविक वार्तालाई पुनः शुरु गर्न अस्वीकार गरेको छ । अमेरिकाले ‘शीतयुद्धको थालनी गरेको’ आरोप लगाउँदै उत्तर कोरिया अमेरिकासँगको वार्ताबाट पछाडि हटेको हो । आणविक वार्तालाई पुनः शुरु गर्ने विषयमा छलफल गर्न दक्षिण कोरियाको राजधानी सोल आइपुगेका एक उच्च अमेरिकी अधिकारीको भनाइपछि उत्तर कोरियाले वार्ताप्रति असहमति जनाएको रोयटर्सले लेखेको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले विहिवार एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकाको कोरियाली प्रायद्विपमा सैन्य उपकरण तैनाथको तयारी थालेकोप्रति पनि आपत्ति जनाएका छन् ।

प्योङयाङ र वासिंटनबीच फेब्रुवरीमा भियतनामको हनोइमा विना कुनै सहमित वार्ता सकिएपछि पुनः अर्को वार्ता हुन सकेको छैन । यद्दपि, उनीहरुबीच कोरियाली सीमा क्षेत्रको गैरसैनिक क्षेत्रमा जुन महिनामा भएको भेटले चाँडै अर्को वार्ताका लागि तयारी थाल्नेबारे कुराकानी भएको थियो ।

त्यसपछि उत्तर कोरियाले पनि करिब आधा दर्जन छोटो दुरीका क्षेप्यास्त्र परीक्षण प्रहार गरेका कारण अमेरिका र उत्तर कोरियाबीचको तनाब थप चुलिएको छ ।