जनयुद्व, तीनवर्ष जेल, अहिले स्वतन्त्र नागरिक–रेग्मी

1582
views

पर्वत । तात्कालिन माओवादीले शुरुवात गरेको जनयुद्वमा सहभागी भएर परिवर्तनको आन्दोलनमा लागेका मोदी गाउँपालिका–६ तिलाहारका क्षेत्र रेग्मी स्वतन्त्र नागरिकका रुपमा फर्किएका छन् । राजनीतिमा लामो संघर्ष र योगदान पुर्याएका रेग्मीले स्वतन्त्र नागरिकका रुपमा रहन थालेपछि माओवादी आन्दोलन र तिनको नेतृत्वप्रति नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।

तात्कालिन युद्वकै क्रममा २०६१ मंसिरमा पर्वतको लुङ्खु हालको महाशिला गाउँपालिकाबाट प्रहरीेले नियन्त्रणमा लिएका रेग्मीलाई २०६३ असार ३० सम्म राजनैतिक बन्दी बनाइएको थियो । तात्कालिन माओवादी र सात राजनैतिक दलहरुबीच भएको वृहत शान्ति सम्झौतापछि उनको बन्दी जीवनबाट स–सम्मान रिहा गरेको उनी बताउँछन् ।

पद, पैसालाई भन्दा पनि वर्गिय संघर्षमा दृढ रेग्मीको लक्ष्यमा उनको पारिवारीक अवस्थाले पनि निकै अफ्ठ्यारो बनायो । छोराको मृगौला अप्रेशन र श्रीमतीको क्यान्सरको उपचारजस्ता समस्याले रेग्मीलाई आर्थिक रुपमा निकै कम्जोर बनायो । अहिले पारिवारीक स्वास्थ्य अवस्थामा केही सुधार आएको छ, रेग्मी भन्छन् ‘राजनीतिक जीवनले थकित बनाउँदै व्यावसायि र स्वतन्त्र नागरिक हुने अवस्थामा पुर्यायो, २०६८ सालपछिको समयदेखी स्वतन्त्र नागरिक भएर बसेको छु ।’

२०६८ पछि माओवादीको फुट, नेताहरुको विलासी जीवन र कार्यकर्ताको अवहेलनापछि संघर्षको औचित्य सकिएको निष्कर्षसँगै स्वतन्त्र नागरिकको रुपमा बस्ने निर्णय गरेको उनी बताउँछन् । रेग्मी भन्छन् ‘‘माओवादी युद्वले परिवर्तन त ल्यायो, चेतना जागृत त गर्यो, तर, नेताहरुको विलासी जीवन र कार्यकर्ताको हरिविजोग ईतिहासकै अभिाषाप हो ।’’  

क्यान्सर जित्न सफल क्षेत्र रेग्मकी श्रीमती राम माया रेग्मी

तात्कालिन गण्डक क्षेत्रमा काम गर्दै आएका रेग्मी नेकपा माओवादीको जिल्ला समिति सदस्य र अखिल नेपाल ट्रेड युनियन महासंघको जिल्ला संयोजक समेतको भूमिका निर्वाह गरेका थिए ।

स्वतन्त्र नागरिक जीवनमा फर्किएका रेग्मीले आफ्नो नाममा भएको गाउँको सात/आठ रोपनि जग्गामा कृषि खेती र आम्दानीको लागि एउटा ट्याक्सी लिएर दैनिकी गुजारा चलाएको बताउँछन् ।

गाडीको लोनसँगै परिवारको उपचार खर्च र सामान्य खानेबस्ने खर्च अहिले गाडीको भरमा रहेको बताउने रेग्मीले राजनीतिक विश्रामसँगै राजनीतिक परिवर्तनका लागि पुर्याएको योगदानमा कुनै पश्चाताप नरहेको बताए ।

उमेरले ५६ बर्षमा प्रवेशमा गरेका रेग्मीले अहिले मिलन कृषि उद्यम केन्द्र मार्फत तरकारी उत्पादन, बीऊबिजन जस्ता उत्पादनमा सुरुवात गरेका छन् । २० बर्षको उमेरदेखि राजनीतिक यात्रा सुरु गरेका रेग्मीले भने ‘जनयुद्वमा लागेका अधिकाँस ईमान्दार नेता कार्यकर्ताहरु कोही खाडीमुलुक जान बाध्य छन्, कोही सामान्य नागरिक सरह जीउनुको विकल्प छैन्, मेरो जीवनमा भने अबको बाटो स्वतन्त्र नागरिकको ।’’