मुगुको ताल्चा विमानस्थल निर्माण नहुँदा जोखिम

1419
views

मुगु, २१, मंसिर । निर्माण सुरु भएको चार दशकसम्म पनि मुगुको ताल्चा विमानस्थल पूरा हुन सकेको छैन । टर्मिनल टावर नबन्दा काठको टहरोमा उपकरण जडान गरी जहाज अवतरण गराइन्छ । हावा लाग्दा टर्मिनल टावर हल्लिने गरेको छ । घेराबार नहुँदा विमानस्थलमा पसेका पशुचौपाया धपाएर जहाज अवतरण गराउने गरिएको छ ।

२०३६ सालबाट विमानस्थल निर्माणको काम थालिएको थियो ।रारा आउने पर्यटकलाई लक्षित गरी बनाइएको विमानस्थलको अवस्था झन् नाजुक बन्दै ताल्चाका ५४ वर्षीय बाँचे महतराले बताउनुभयो ।०६० सालमा परीक्षण गरिएको विमानस्थलमा २०६३ देखि नेपाल एयरलाइन्सले उडान भर्न सुरु गरेको थियो ।

धावनमार्गनजिकै काठको टहरो बनाइ टर्मिनल टावर सञ्चालन गरिएको छ । राराताल हेर्न आउने अधिकांश पर्यटक यही विमानस्थल भएर पुग्ने गर्दछन् ।

निजी एयरलाइन्सले अहिले प्रदेश राजधानी सुर्खेत र नेपालगन्जबाट दैनिक ४ उडान भर्दै आएका छन् । केही समययता मानसरोवर यात्रामा जाने भारतीय पर्यटकको चाप बढे पनि विमानस्थलको अवस्था सुधार नहुँदा समस्या भइरहेको छ ।