अस्ट्रेलियाको डढेलोमा मरिए पचास करोड वन्यजन्तु, आगो अझै नियन्त्रण बाहिर

845
views

 पुष २०, २०७६

अस्ट्रेलियमा तीन महिनादेखि लागेको आगो नियन्त्रण बाहिर छ। झाडीबाट सल्किएको आगो घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र वेगको हावाका कारण आगो अनियन्त्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यम बिबिसीले जनाएको छ ।

डढेलोका कारण कैयौं घरबारविहीन भएका छन्। अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कैयन् बस्तीहरू आगलागीका कारण सखाप भएका छन्। त्यति मात्र होइन डढेलो र धुवाँले अस्ट्रेलियाकै वातावरण बिग्रिएको छ।

आगलागीमा परेर अहिलेसम्म २४ जनाको ज्यान गइसकेको छ। अन्य कैयौँ बेपत्ता भएको जनाइको छ। डढेलोका कारण झण्डै ५० करोड वन्यजन्तु मारिएको पर्यावरणविद्को दाबी छ। उनीहरूले डढेलोका कारण संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरू विनाशको अवस्थामा पुगेको बताएका छन्।

गाइवस्तुसँगै जंगलमा रहेका हजारौं कंगारू तथा अन्य जनावर डढेलोले सखाप बनाएको तथ्य हालै सार्वजनिक भएको छ। युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानले बिबिसीलाई ४९ करोड पशुपंक्षी मारिएको तथ्यांक दिएका छन्। उनका अनुसार कीरा फट्यांग्राबाहेक चराचुरुंगीसमेत जोडेर ४९ करोड पशुपंक्षी आगलागीमा परेर मरेका हुन्।

गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो आगलागी अझै केही महिना नियन्त्रणमा लिन नसकिने बताएका छन्। आगो नियन्त्रणका लागि थप ३ हजार सुरक्षाकर्मी खटिएका पनि उनले बताएका छन्। तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ नागरिक भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्। आगलागी भएको क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको त्यहाँ अधिकारीले बताएका छन्।