कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार

662
views

पुष,२३ २०७६

काठमाडौं :असन्तुष्ट समूहको निरन्तरको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवा निर्णय सच्याउन तयार देखिएका छन् । गत ११ पुसको केन्द्रीय समिति बैठकबाट बहुमतको निर्णयमार्फत पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याएका देउवा असन्तुष्ट समूहको निरन्तरको दबाब पछि निर्णय सच्याउन तयार देखिएका हुन् ।

असन्तुष्ट समूहले केन्द्रको आफ्ना तर्फको दबाबबाट नपुगेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूलाई बोलाएर निर्णय फिर्ता गर्न दबाब दिँदै आएका छन् । सोमबारबाट सुरु सभापतिको भेला मंगलबारसमेत सकिएको छैन ।

कांग्रेसभित्र देखिएको विवाद अन्त गर्न सभापति शेरबहादुर देउवा पुस ११ गतेको पार्टी निर्णय सच्याउन तयार भएका छन्। बहुमतबाट गरिएको निर्णय नमान्ने भन्दै जिल्ला सभापति भेला बोलाएको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउन सभापति देउवा अग्रसर भएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने र विभाग संख्या बढाउने निर्णय सच्याउनुपर्ने अडान राखेपछि सभापति देउवा सकारात्मक देखिएका हुन्।

‘महाधिवेशनको मिति यथावत राखेर बाँकी कार्यतालिकामा सहमतिका लागि सभापति तयार हुनुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले भने, ‘उहाँहरुले राखेका असहमतिका सबै विषयमा छलफल गर्न र समाधान निकाल्न सभापतिज्यू सकारात्मक हुनुहुन्छ।’

असन्तुष्ट समूह महाधिवेशन अर्को वर्ष फागुन ७ देखि १० गतेकै मितिमा गर्ने केन्द्रीय समितिको निर्णय मान्न तयार भएपनि आन्तरिक कार्यतालिका संशोधन गर्नुपर्ने, क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गर्ने व्यवस्था हटाउनुपर्ने र भ्रातृसंस्थामा सम्मानजनक हिस्सेदारीको खोजीमा छ।

‘आज क्रियाशील बन्ने अनि भोली मतदाता र उम्मेदवार बन्न पाउने व्यवस्था पार्टी विधि विधान र परम्परा विपरीत छ, यसलाई स्वीकार्न सकिँदैन, क्रियाशील सम्बन्धी अरु धारा निलम्बन गर्नुपर्ने आवश्यकता छैन,’ कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरले भने, ‘एक वर्ष्भित्रै स्थानीय तहको अधिवेशन र तीन महिनाभित्र प्रदेश र महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने कुरा अलि अव्यवहारिक छ। यसमा पनि सुधार गर्नुपर्छ।’

कांग्रेस बैठकले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ७१ र ५० (५) बमोजिम पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि धारा ४ (२), धारा ४ (१०) (ञ), धारा ४ (१२) (ख), धारा ३५ (२) (घ) र धारा ५०(६) निलम्बन गरेको थियो। विभागको संख्या २८ बाट ४७ पुर्‍याउने, तरुण दलको समयावधि ६ महिना थप गर्ने र नेविसंघका बारेमा कांग्रेसभित्र कुरा मिल्न सकेको छैन।

पार्टी्भित्रको विवाद मिलाउन यतिबेला युवा नेता सक्रिय भएका छन्। केन्द्रीय सदस्य एनपी साउद, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरे, सरिता प्रसाईंलगायतका नेताले पार्टी नेतृत्वलाई भेटेर सहमतिका लागि दवाव दिँदै आएका छन्।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि महाधिवेशनको मिति हेरफेर नगरी बाँकी सबै विषयमा सहमति गर्न सभापति सकारात्मक भएको बताए।

‘महाधिवेशन त्यही मितिमा हुन्छ, बाँकी विधानको धारा निलम्बनदेखि विभाग र भ्रातृसंस्थाका विषयमा सहमति गर्न सकिन्छ, यसका लागि वार्तामा आउनुपर्‍यो। गुटगत भेला र बैठकले पार्टीलाई थप कमजोर मात्र बनाउँछ,’ उनले भने।

सँगै सोमबारदेखि सुरु जिल्ला सभापति भेला लम्बिएको छ। पार्टी सभापति देउवालाई दबाब दिन संस्थापन इतर समूहले बोलाएको बैठक मंगलबारसमेत चल्यो। भेलामा ४३ जिल्लाका सभापति सहभागी भएको काभ्रे सभापति मधु आचार्यले जानकारी दिए।