देशका सातवटै प्रदेशमा मतदान जारी,कर्णालीमा ८० प्रतिशत मत खस्यो

457
views

जितेन्द्र थापा,सुर्खेत,९ माघ । राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिनुभएको छ ।

   

मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बस्नुभएको देखिन्थ्यो । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमशः मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल दुई हजार ५६ मतदाता  रहेका छन् । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको छ । मतदान सकिनासाथ राजनीतिक दलको सहमतिमा मतगणना कार्य प्रारम्भ हुने छ । आजै राति सातै प्रदेशबाट निर्वाचनको नतिजा प्राप्त हुनेछ ।

यस्तै कर्णाली प्रदेशमा दिउसो १२ बजेसम्म ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेशमा जम्मा १ सय ९८ मतदाता रहेका थिए । जसमा प्रदेशका लागि ४० र स्थानीयका लागि १ सय ५८ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १२ बजे सम्मको ८० प्रतिशत मत भन्दा बढि मत खसेको छ ।

प्रदेशमा ३९ मत खसिसकेको छ भने स्थानीयमा १ सय ३० मत खसिसकेको आयोगले जनाएको छ ।अब प्रदेशका लागि १ मत खस्न बाँकी रहेको छ भने स्थानीयमा २८ मत खस्न बाँकी रहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा बाट मायाप्रसाद शर्मा, सुमित्रा विसीले उम्मेदवारी दिएका थिए भने नेपाली काँग्रेसबाट गणेश कुमारी बस्नेत,डिल्ली राम पाठकले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सुर्खेत जनाएको छ ।
बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्मच चल्ने निर्वाचन आयोगले जनाएको छ । सात बजेबाट मत गणना हुने बताइएको छ ।