गायिका राउत प्रहरी नियन्त्रणमा

560
views

काठमाडौं,१३, माघ । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्धामा उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।

आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्। यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो । विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो ।

आस्थाले माघ १ मा विमानस्थलमा सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि दुर्व्यवहार भएको  लाइभ गरेकी थिइन् । त्यसको केहीबेरमा नै उनले भिडियो हटाइन् । सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो ।