नेपाली सेनाले गर्यो भूतपूर्व सैनिक सम्मेलन

579
views

काठमाडौं । नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा दाङ्ग जिल्लाको घोराही व्यारेकमा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा भएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै प्रधानसेनापति थापाले अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट, सुख दुःखको अनुभवहरु साट्ने, एक आपसमा सामिप्यताको भावना जागृत गराउन सम्मेलनको आयोजना गरिएको बताए ।

शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा सल्यान, दाङ्ग, प्युठान, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा जिल्लामा बसोबास गर्ने नेपाली सेनाका भूतपूर्व सैनिकहरु तथा परिवारजनहरुको सहभागीता रहेको थियो ।

सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि.टी. प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए ।

नेपाली सेनाको व्यवस्थापन र नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा ६ जिल्लाका नौसय १२ जना भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।