एम्बुलेन्स र स्वास्थ्य चौकी हस्तान्तरण

779
views

ललितपुर । नेपाल रेडक्रसले ललितपुरको दक्षिणक्षेत्र महाँकाल गाउँपालिकालाई महिन्द्रा बोलेरो एम्बुलेन्स उपलव्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले गाउँपालिका भवन परिसर, गोटीखेलमा महाँकाल गाउँपालिका प्रमुख रामचन्द्र दाहाललाई एम्बुलेन्स गाडि र त्यसको साँचो हस्तान्तरण गरेका हुन् ।

बीमा, पेन्टिङ र लेखनसहित १२ लाख रुपैँयाकोे ‘ग’ वर्गको गाडी सहयोग पाएकोमा अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै भने ‘दुर्गम यस क्षेत्रमा एम्बुलेन्सको अति खाँचो छ, चालकको भर्ना गर्न पदपूर्ति सूचना निकालिसकिएको छ र छिटै यो सेवा सुचारु हुनेछ ।’

नेरेसोका अध्यक्ष सञ्जीव थापाले सामान्यतया रेडक्रसको उपशाखाले नै एम्बुलेन्स सञ्चालन गर्ने प्रचलन भएपनि एम्बुलेन्स सेवा नीति अनुसार आवश्यक स्रोत साधन र कर्मचारी व्यवस्था सरल हुने र दीगोपना आऊने अपेक्षा गरी गाउपालिकाको अनुरोधमा पालिकालाई नै गाडि उपलव्ध गराइएको जानकारी दिए ।

ललितपुर रेडक्रसका सभापति बाबुराजा महर्जनको सभापतित्वमा सञ्चालित हस्तान्तरण कार्यक्रममा गाउपालिका उपाध्यक्ष कमला लामा तामाङ, वडा अध्यक्षहरु, नेरेसोका कार्यकारी निर्देशक उमेश ढकाल, निर्देशक दिव्यराज पौडेल, बुद्धि सागर श्रेष्ठ, वेलायती रेडक्रसका प्रतिनिधि सोनाक्षी देव लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

यसैबीच महाँकाल गाविसको वडा नं ५ को नमन डाँडामा नेपाल रेडक्रसले चन्दनपुर स्वास्थ्य चौकी भवन निर्माण गरी हस्तान्तरण गरेको छ । कर्मचारी आवास सहितको दुइतले नवनिर्मित भवन हस्तान्तरण गरको हो । रेडक्रसले सो निर्माणका अलावा थप २ वटा स्वास्थ्य चौकीलाई उपकरणहरु पनि उपलव्ध गराएको छ ।