बहिनी अमृताको स्मृतिमा स्वरेक टापुमा पुरस्कार वितरण

516
views

पोखरा, ६, फागुन । स्वर्गीय भेषकुमारी (अमृता) पाण्डेय देवकोटाको ३४ औं जन्मजयन्तीको अबसरमा स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कार एवं छात्रबृत्ति वितरण सम्पन्न भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा अबस्थित टापुभञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबार एक कार्यक्रमका विच अमृताका दाजु घनश्याम पाण्डेय, भाउजु जानुका पाण्डेय र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल पंगेनीले चारजना विद्यार्थीलाई पुरस्कार एवं छात्रबृत्ति वितरण गर्नुभएको हो । यस बर्ष उत्कृष्ट विद्यार्थीतर्फ लक्ष्मी पंगेनी र सिद्धार्थ खाँणले पुरस्कार प्राप्त गरेका छन् भने जहेन्दारतर्फ भगवती रिजाल र राधा विकले पुरस्कार प्राप्त गरेका छन् ।

अमृताको २०६१ साल असार १८ गते बुटबलको नयाँमिलमा आफै चढेर गएको बसबाट झर्नेक्रममा ढोका बाट खसेपछि सोही बसले ठक्कर दिदा मृत्यु भएको थियो । परिवारले हरेक बर्ष फागुन ५ गते अमृताको जन्मजयन्तीको अबसर पारेर अमृताको सम्झनामा उनले अध्ययन गरेको पहिलो विद्यालय टापुभञ्ज्याङमा विद्यालय भरिनै उत्कृष्ट अकं प्राप्त गर्ने एक छात्र र एक छात्रा गरि दुई विद्यार्थी र जहेन्दारतर्फ दुई गरि चारजनालाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरेको पत्रकार समेत रहनु भएका अमृताका दाजु घनश्याम पाण्डेयले बताउनु भयो । १ लाख ५५ हजारको अक्षयकोष निर्माणमा माउण्ट कैलाश रिसोर्ट पोखराका नरेश भट्टराई ,अमेरिकामा कार्यरत विमला पाण्डे, स्वर्गीय अमृताका श्रीमान विष्णु देवकोटा , सांसद दीपक कोइराला र आफ्नो घरपरिवार रहेको पाण्डेयले बताउनुभयो ।

पाण्डेयले बहिनीको सधै स्मरण होस भन्ने सोच र विद्यार्थीहरुलाई अध्ययनशिल बनाउने उद्देश्यले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने गरेको बताउनु भयो । पुरस्कार वितरणमा ठुलो सहयोग माउण्ट कैलाश रिसोर्टको रहदै आएको पनि पाण्डेयले जनाउनु भयो । विद्यार्थीहरुलाई ब्याग, कपी कलम, पेनसिल लगायतका झण्डै एक बर्ष पुग्ने सामाग्री वितरण गरिएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल पंगेनीले स्वर्गीय अमृताको परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेर समाजमा सकारात्मक सन्देश दिएको बताउनु भयो । अहिले विद्यालयमा अन्य अक्षयकोष दाताहरुपनि रहेको भन्दै पंगेनीले आगामी बर्ष बाट सवै पुरस्कार तथा छात्रबृति माघ २५ गते विद्यालयको बार्षिक उत्सवको अबसरमा वितरण गरिने बताउनु भयो । विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार विकले पाण्डेय परिवारले शिक्षाको क्षेत्रमा गरेको सहयोगले विद्यार्थीमा हौसला थपिएको बताउनु भयो ।