राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड

519
views

सुर्खेत, ७, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी एमसीसी पास हुने जानकारी दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा प्रचण्डले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएको बताउँदै दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको चर्चा गरे । पार्टी एकतापछिको नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको समेत प्रचण्डको भनाई थियो ।

नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री माधव नेपालले कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताउँदै नेपालमा राजनीतिक क्रान्ति पूरा भएको बताए । नेपालले अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यक रहेको बताए ।

नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै कार्यकर्ताको मूल्याङ्कन उसको आचरण र कामका आधारमा हुने प्रष्ट्याए ।

नेकपा महासचिव विष्णु पौडलले कम्युनिष्टले हनुमानले जडीबुटी ल्याऊभन्दा दोर्णाचल पर्वत उचालेर ल्याएजस्तो काम नेकपाले गरेको तर्क गरे ।

उनले जनताको पीडा, समस्या र अभावमा कम्युनिष्टको परीक्षा भइरहको बताउँदै वडास्तरदेखि केन्द्रतहसम्मका सबै नेता कार्यकर्ताले जनताका पक्षमा असल काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले नेतृत्वको थोरै सहयोग पुगे कर्णाली अगाडि बढ्ने बताए । कर्णालीको मर्म बुझ्न नेतृत्वलाई अनुरोध गर्दै नेकपाको एकीकृत शक्तिले यहाँको पहाडलाई भत्काएर मैदान बनाउन सकिने दृढता व्यक्त गरे ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटीसहित यहाँका १० वटै जिल्लाका नेकपाका अध्यक्षले जिल्लास्तरमा हालसम्म भए÷गरेका पार्टीका काम, गतिविधि र अन्य प्रगतिको विवरण प्रस्तुत गरेका थिए । भेलामा कर्णाली प्रदेश समितिका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, अध्यक्ष, सचिवसहित पार्टी अगुवाको सहभागिता रहेको थियो ।