नेपालको वैदेशिक व्यापारघाटा सात खर्ब ४७ अर्ब

597
views

काठमाडौं, २६, जेठ । नेपालको वैदेशिक व्यापारघाटा सात खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । चालू आवको १० महिनामा कुल आठ खर्ब ६९ अर्ब ७० अर्ब रुपैयाँको व्यापार भएकामा आयातमात्रै आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ । यस अवधिमा नेपालबाट ६१ अर्ब दुई करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय परिदृष्यमा आयातको तुलनामा निर्यात नगन्य छ । अत्यावश्यक पेट्रोलियम पदार्थ तथा सवारीसाधन र यसका पार्टपुर्जा आयातले व्यापार घाटा थप उच्च बनेको हो ।चालू आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारीमा गएका नेपालीले खर्ब ६६ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल पठाएका छन् । समीक्षा अवधिमा नेपाल भित्रिएको रकम गएको आवको सोही अवधिभन्दा पाँच दशमलव दुई प्रतिशत बढी हो । अघिल्लो वर्षको १० महिनासम्ममा एक खर्ब ६६ अर्ब ६३ करोड रहेको शोधानान्तर बचत यस वर्षको सोही अवधिमा ५३ अर्ब ५४ करोडमा सीमित भएको छ । आयातमा भएको उच्च वृद्धि र रेमिटेन्समा आएको कमीका कारण शोधनान्तर बचत घटेको हो । चालू आर्थिक वर्षको वैशाखमा मूल्य वृद्धि ३.४ प्रतिशतमा सीमित रहेको छ । गत चैतमा यस्तो मूल्य वृद्धि ३.८ प्रतिशत थियो । चालू आवको १० महिनामा कुल आठ खर्ब ६९ अर्ब ७० अर्ब रुपैयाँको व्यापार भएकामा आयातमात्रै आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको छ ।
समीक्षा अवधिमा खाद्य वस्तुको मूल्य वृद्धि शून्य दशमलव दुई र गैरखाद्य वस्तुको मूल्य वृद्धि ६ प्रतिशत छ । गएको वर्षको वैशाखमा खाद्य वस्तुको मूल्य वृद्धि ९.६ प्रतिशत र गैरखाद्यवस्तुको मूल्य वृद्धि १०.४ प्रतिशत थियो ।
समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य वृद्धिमा १३.४, तरकारीमा १३.१ र घिउ तथा तेलहनमा एक दशमलव नौ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य वृद्धिमा भने १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत आधारमा हेर्दा वैशाखमा काठमाडौंमा सबैभन्दा कम र पहाडमा सबैभन्दा बढी मूल्य वृद्धि भएको छ । हिमालमा यस्तो मूल्य वृद्धि दुई दशमलव आठ प्रतिशत र तराईमा तीन दशमलव ६ प्रतिशत छ । यस्तो वृद्धिदर गत आवको वैशाखमा काठमाडौं उपत्यककामा ११.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा ९.१ प्रतिशत र पहाडमा ११ प्रतिशत थियो ।