प्रचण्डलाई जुत्ता हान्ने रतनका बाबुले जनयुद्वमा ज्यान गुमाएका थिए

1230
views

काठमाडौँ, १८, फागुन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । आइतबार राष्ट्रियसभा गृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रममा सहभागी हुने क्रममा मञ्चासिन प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार गर्ने जुम्ला सिञ्जाको रतन तिरुवा हुन ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्र सिंह राठौरले जुत्ता प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको बताएका छन् । उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा लगिएको छ । दाहाललाई लक्षित गरेर प्रहार भएको जुत्ता भने नलागेको प्रहारीले दावी गरेको छ ।

उनका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।