यो बाँच्ने समय हो, बाँचौँ !

76
views

■ बबिता बस्नेत

हरेक मानिसको जीवनमा मृत्यु निश्चित छ, तर त्यो मृत्यु कहिले आउँछ, कसरी आउँछ कसैलाई थाहा हुँदैन । प्रायः मानिसले आफूलाई असुरक्षित महसुस गर्ने पनि मृत्युको भयकै कारणले हो । ब्यक्त गर्ला या नगर्ला, तर हरेक मानिसले आफ्नो मृत्युको बारेमा सोच्छ । ‘म कहिले मर्छु होला ?’ भन्दा बढि मानिसले सोच्ने भनेको ‘म मर्दा साथमा को हुन्छ होला, कसरी, कहाँ, कस्तो अवस्थामा मर्छु होला ?’ भन्ने हो ।

मानिसलाई पति, पत्नी, सन्तान, आफन्त र परिवारप्रतिको मोह जाग्नुमा मृत्युको भय कुनै न कुनै रूपमा जोडिएको हुन्छ । मृत्यु मानिसको जीवनमा सबैभन्दा ठुलो त्रास हो । अहिले विश्वभर यतिका मानिसहरू घरमा सीमित भएर बस्न सक्नुमा पनि मृत्युको भय प्रमुख कारण हो । मृत्युसँग मानिसलाई डर नलाग्दो हो त अहिले हामीकहाँ नै पनि पुतलीसडक, माइतीघरतिर मानिसहरूको जुलुस लागिरहेको हुने थियो भन्न सकिन्छ । ‘मलाई त मृत्युको खासै डर थिएन, सरकारले भनिहाल्यो त्यही भएर घर बसेको’ भनेर कसैले भन्यो भने त्यो ठुलो झुठ हुनेछ । मृत्युको भयबाट मुक्त मानिस नभएका होइनन्, छन् । तर त्यो तहसम्म पुग्न मानिसले धेरै ठुलो मिहिनेत गर्नुपर्ने हुन्छ । पहिलेका मानिसहरू जीवनको उत्तरार्द्धमा धार्मिक स्थलमा देहत्याग गर्नका लागि काशी, बनारसतिर जान्थे । त्यसलाई मृत्युको तयारी भन्न मिल्छ ।

मुलुकमा कोभिड–१९ को प्रवेशपछि अहिले हामी जीवनमा कहिल्यै नसोचेको एउटा अचम्मको परिस्थितिमा छौँ । बाँच्नका लागि खाने तरकारी, फलफुल हुँदै बाहिर निस्किएर घर फर्किएका आफन्तको शरीर सम्ममा मृत्युको छाया देख्दै बाँचिरहेका छौँ । दुई महिनाअघिसम्म हामी सबैका आ–आफ्ना सपना थिए । पेशा, ब्यवसायदेखि ब्यक्तिगत जीवनका योजनाहरू थिए । तर अहिले हामी सबैको सपना र योजना करिव–करिव उस्तै बन्न पुगेको छ– बाँच्नु । बाँचियो भने फेरि सपना देखौँला, योजना बनाऔँला । अहिलेको हाम्रो प्रमुख लक्ष्य सुरक्षित रहने र बाँच्ने नै हो । हामी आफैले यो कोशिस गरेनौँ भने अरु कसैले हामीलाई बचाउन सक्ने छैन । कोरोना भाइरस यस्तो शत्रुको रूपमा हामीसामु आएको छ कि यसले हामी सबैलाई एक्लो बनाउँछ, बनाउँदै लगेको छ । मर्दा आफ्नो मान्छे चाहिन्छ भन्ने मान्यता र चाहनालाई यसले सिधै गलत सावित गरिदिएको छ । मर्नुअघि आफ्ना मान्छेले सुम्सुम्याएर, छोएर प्रेम प्रकट गर्न त के नजिकबाट हेर्न पनि पाउँदैनन् ।

दुई महिनाअघिसम्म हामी सबैका आ–आफ्ना सपना थिए । पेशा, ब्यवसायदेखि ब्यक्तिगत जीवनका योजनाहरू थिए । तर अहिले हामी सबैको सपना र योजना करिव–करिव उस्तै बन्न पुगेको छ– बाँच्नु ।

कोरोनाले सबैभन्दा पहिला विश्वलाई हामीबाट अलग गरÞ्यो । देशभित्रै प्रदेश र जिल्लामा विभाजित गरी एकबाट अर्कोमा जान नपाउने बनायो । त्यसपछि एउटा पालिकाबाट अर्को पालिका, एउटा वडाबाट अर्को वडामा जानबाट बन्चित गर्दै अहिले टोल–टोलमा बार लगाई बाहिरका मानिस आउन नपाउने अवस्थामा पुरÞ्याएको छ । अब समयक्रममा छिमेकीहरूका घरमा जानबाट निषेध गरिनेछ । त्यसपछि परिवारभित्रै पनि कसैलाई कोरोना भएको पाइएमा उ आफ्नै घरभित्र एउटै कोठामा सीमित हुनेछ । आफू बसेको कोठाबाट अर्को कोठामा जान पाउने छैन । आफन्तहरूले उसलाई अछुतको ब्यवहार गर्नेछन् । उ नितान्त एक्लो हुनेछ । आफन्तले विभेद गरुँ भनेर होइन कि यसले परिस्थिति नै त्यस्तो बनाइदिन्छ । आफू बाँच्ने चाहना जसलाई पनि हुन्छ । नजिक पर्नासाथ आफ्नो जीवन जोखिममा पर्ने भएपछि टाढा–टाढा हुनु स्वभाविक नै हो ।

कोरोनाले माया, प्रेम, आफ्नोपन भन्ने कुरा जीवनमा कति ठुला भ्रम हुन् भनेर मानिसलाई बुझ्ने मौका पनि दिइरहेको छ । विश्वमा यतिका मानिस मरे, मरिरहेका छन्, कसैका छोराछोरी, बाबुआमा, प्रेमी–प्रेमिका, पति–पत्नीले डाक्टरले रोक्दारोक्दै पनि लाशमा छाँद हाले या एकपल्ट हात सुम्सुम्याउछु भने भन्ने समाचार पढ्न पाइएको छैन । तिमीबिना बाँच्नै सक्दिनँ भन्ने मान्छेहरू एकर्काले ख्वाक्क खोक्दा इशाराले पर धकेलेका ब्यङ्ग्यात्मक भिडियोहरू छ्याप्छ्याप्ती छन् । वास्तविक जीवनमा पनि धेरैको त्यस्तो नभएको होला भन्न सक्ने अवस्था छैन । जीवनका अनेक विकराल रूपहरू देखिए पनि यो स्तरको नाङ्गो वास्तविकताबाट मानिसहरू यसअघि परिचित थिएनन् ।

निकै विकसित देशमा त मानिसलाई सकस भइरहेको बेला हाम्रो देशमा आफै सचेत हुनु बाहेक अर्को विकल्प देखिँदैन । सरकारको तयारीका बारेमा कोभिड–१९ का लागि बनेको उच्चस्तरीय समितिसम्बद्ध अधिकारीहरूका कुरा मिडियामा धेरै सुनियो । तयारी कस्तो रहेछ भन्ने कुराचाहिँ त्यहाँ बस्नेहरू धमाधम भाग्न थालेपछि मात्र थाहा भयो । न क्वारेन्टाइनहरू बस्नलायक छन् न त अस्पतालहरू नै । तातोपानी खान घण्टौँ पर्खिनु परेको र चाउचाउले छाक टार्नु परेको भुक्तभोगीहरूले बताइरहेका छन् ।

कोरोनाले माया, प्रेम, आफ्नोपन भन्ने कुरा जीवनमा कति ठुला भ्रम हुन् भनेर मानिसलाई बुझ्ने मौका पनि दिइरहेको छ । विश्वमा यतिका मानिस मरे, मरिरहेका छन्, कसैका छोराछोरी, बाबुआमा, प्रेमी–प्रेमिका, पति–पत्नीले डाक्टरले रोक्दारोक्दै पनि लाशमा छाँद हाले या एकपल्ट हात सुम्सुम्याउछु भने भन्ने समाचार पढ्न पाइएको छैन ।

कोरोनाुसँग लड्न पौष्टिक आहार चाहिन्छ । कोरोनाबाट सङ्क्रमित हुनासाथ मानिस मर्छ भन्ने होइन तर मृत्युको त्रासले उसको आत्मविश्वास गिराउँछ । त्यस्तो बेलामा क्वारेन्टाइनमा बस्नेहरूलाई आत्मविश्वास जगाउने कक्षाहरू सञ्चालन गर्ने र मनोवैज्ञानिक परामर्श दिन सके त्यसले फरक पार्छ । तर यी सब कुरासँग हामीकहाँ कुनै मतलब छैन । यो देशका जनता आफैले आफ्नो आत्मबल दह्रो पार्नुपर्ने छ । आफूले आफैलाई सम्हाल्नुपर्ने समय छ । आफूसँग राम्रो ब्यवहार गर्नु, शरीरलाई फाइदा हुने कुरा मात्र खानु, मानसिक रुपमा आफूलाई सम्हाल्नु, आफैप्रति उत्तरदायी हुनु जिन्दगीमा ठुलो कुरा हो । यो दायाँबायाँ केही नसोची केवल बाँच्ने समय हो । यद्यपि बाँचे पनि कुनै बेला मर्नु त छँदैछ, अहिले बाँच्नु भनेको पनि मृत्युलाई केही पर सार्नु मात्रै हो । पर सार्न सक्नु पनि आफैमा सफलता हो, एकपल्टकै लागि भए पनि मृत्युलाई जित्नुसरह हो । जुन सम्पूर्ण रूपले हाम्रो हातमा छैन तर आफूले आफैलाई कर्फ्यू लगाउन सक्यो भने केही हदसम्म आफ्नो पकडमा छ ।

घरमा बसेर राज्यलाई सहयोग गर्ने अवसर मिले पनि घर बस्न त्यति सहज भने छैन । दिनदिनै मानिसलाई आर्थिक समस्याले गाँज्दै लगेको छ । सुरुका दिनहरूमा घर–परिवारलाई समय दिँदा, सजिलो ओछ्यान लगाएर आराम गर्न पाउँदा खुशी लागे पनि बिस्तारै त्यो खुशी दिक्कमा परिणत हुँदैछ । ‘लकडाउन’मा बस्दाबस्दै मानिसहरू ‘अर्थ (पैसा) ठुलो कि स्वास्थ्य ?’ भनेर सोच्नुपर्ने अवस्थामा पुगेका छन् । आर्थिक रुपले कमजोर हुँदै जाँदा मानिसहरूमा मानसिक तनाव बढ्दैछ । जिन्दगीको तितो यथार्थ के हो भने पूरा गर्न नसकेको अवस्थामा आवश्यकताले परिवारको आत्मियता खोसिदिन्छ । विगतमा आफू के–के काम गर्थे भन्ने कुरा सम्झिँदा पनि त्यो म नै हो र ? भन्ने अवस्थामा मानिसहरू पुगिसके । सामान्य रुपमा हिँड्ने दिन कहिले आउला ? साथीभाइ, परिवारका सदस्य र आफन्तसँग भेट कहिले होला ? होला कि नहोला ? जस्ता तर्कनाहरू एकातिर छन् भने बिहान–बेलुका टार्ने समस्या अर्को्तिर छ । केटाकेटी, वृद्धवृद्धा भएका घरमा थप समस्या छ ।

बाँच्नकै लागि क्वारेन्टाइनमा राखिएका बाँकेका युवाको मृत्युले सुरक्षित बनाउनका लागि खडा गरिएका क्वारेन्टाइनहरू मृत्युका कारण पो बन्दैछन् कि ? भन्ने प्रश्न खडा गरिदिएको छ । देशमा रोजगारी नपाएपछि दुई–चार पैसा कमाएर आफू र परिवार पाल्न भारतको मुम्बई पुगेका युवा त्याहाँ महामारी फैलिएपछि मृत्युबाट जोगिनका लागि आफ्नो घर फर्किएका थिए । धेरै दिन सडकमा पैदल हिँड्दाको थकाइले गलेका उनलाई खानपिन, तातो–चिसोको आवश्यकता थियो । तर त्यहाँ बान्ता गर्दा पनि तिमीलाई के भयो भनेर एक ग्लास पानी खान दिने मान्छे भएन । आफ्नो परिवारसँग बस्नका लागि अनेक हैरानी ब्यहोरेर देश फर्किएको एउटा युवाको अनायसै मृत्यु भयो । क्वारेन्टाइनमा कसैको पनि मृत्यु हुनु भनेको निकै गम्भीर कुरा हो । यतिका समय पाउँदा पनि हामीले उचित तयारी गर्न सकेका रहेनछौँ । क्वारेन्टाइनमा बसेका मानिसहरूको लागि आवश्यक पौष्टिक खाना र स्वास्थ–सुविधा अनिवार्य कुरा हो, तर त्यस्तो हुन सकेको देखिएन । मानिसहरू भाग्नुको कारण बस्नलायक ठाउँ र खाना नै हो भनिएको छ ।

गत सोमबार (२०७७ साल जेठ ५ गते) को बिबिसी नेपाली सेवा प्रत्यक्ष सुन्न छुटेकाले राति सुत्नुअघि सुनिरहेकी थिएँ । कोभिड–१९ का लागि बनेको उच्चस्तरीय समितिका सदस्यसमेत रहनुभएका पर्यटनमन्त्री योगेश भट्टराईको अन्तर्वार्ता रहेछ । क्वारेन्टाइनका बारेमा उहाँ भनिरहनु भएको थियो– स्तरीय क्वारेन्टाइनमा बस्नेले पैसा तिरेर बस्न सक्छन् । पैसा तिरेर बस्न चाहनेलाई सोहीअनुरुपको क्वारेन्टाइनको ब्यवस्था गरिनेछ । मन्त्री योगेश भट्टराईको भनाइ सुनेर अचम्म लाग्यो । कोरोनाले नछुट्याएको धनी–गरिबबीचको विभेदलाई उहाँले वर्गीय सुविधाको ब्यवस्था गरेर बढावा दिने कुरा गरिरहनु भएको थियो । उहाँको कुरा सुनेर घण्टौँसम्म निन्द्रा परेन । के यो देशमा पैसा नहुनेले गतिलो क्वारेन्टाइनमा बस्न नमिल्ने हो ? सरकारको उत्तरदायी मन्त्रीको रूपमा उहाँले त तिनको स्तरोन्नतिको कुरा पो गर्नु पर्थ्यो । हुनेका लागि एउटा ब्यवस्था र नहुनेका लागि अर्को ब्यवस्था‘ यस्तो विषम परिस्थितिमा यो स्तरको विभेद सरकारले गर्न मिल्छ ? अनेक समस्याहरूले गाँजिएर निराश भएका नागरिकलाई सरकारी प्रतिनिधिहरूका बोली र ब्यवहारले थप निराशा पैदा गराउँछ, गराइरहेको छ ।

जिन्दगीका दुःख अनेक छन्, तर पनि यो आफूलाई सम्हालेर बाँच्ने समय हो । आफू बाँच्ने काम त जसले पनि गर्छ अरुलाई बचाउने काम पो ठुलो हो भन्दै हुर्किएका हामीले आफू बाँच्दै अरुलाई बचाउने काम गर्नु पनि आफ्नो दायित्वभित्र पर्छ । आर्थिक, भौतिक, मानसिक, मनोवैज्ञानिक सहयोग जे पनि हुन सक्छ । विचलित अवस्थामा कसैको आत्मविश्वास बढाएर जिन्दगीप्रतिको मोह जगाइदिनु पनि सहयोग हो । जे गर्न सक्ने अवस्थामा छौँ– गरौँ, आफू बाँचौँ र अरुलाई बचाऔँ । घटना र विचारबाट