लण्डन आगलागीमा मर्नेको संख्या १२ पुग्यो

589
views

एजेन्सी । बुधबार लण्डनको एक २४ तले भवन ग्रेनफेल टावरमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । उक्त घटनामा परी १२ जनाको मृत्यु भएको र अझै मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । लण्डन एम्बुलेन्स सर्भिसले १८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार भइरहेको जनाएको छ ।
उद्दार अभियानका प्रमुख पल उडरोले भने, ‘अस्पतालमा ६८ जनाको उपचार भइरहेको छ । केहीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।’ केही मानिसले आगलागीलगत्तै भागेर ज्यान बचाएका छन् भने केहीले बच्चा झ्यालबाट फालेर आफू भागेका थिए । एक प्रत्यक्षदर्शीका अनुसार कसैले जलिरहेको भवनबाट फालेको बच्चा बाहिर रहेका एक व्यक्तिले समातेको जनाएका छन् । तल उभिएका एक प्रत्यक्षदर्शी समीरा लामरानीले भवनको नवौं या १० औं तलाबाट एक महिलाले आफ्नो बच्चा फाल्न इशारा गरेको र एक व्यक्तिले उनले फालेको बच्चा तल भुईमा खस्न नपाउँदै समातेको बताएकी छन् ।
लामरानीले टावरमा उनले सहयोगका लागि धेरै मानिसहरु चिच्याइरहेको सुनेको बताएकी छन् । उनी भन्छिन्, ‘एक व्यक्ति त कपडालाई प्याराशुटको रुपमा प्रयोग गरेर झ्यालबाट हामफालेका थिए ।’
उनले भवनमा धेरै मानिस फंसेकामा केही बच्चा समेत रहेको बताएकी छन् । ग्रेनफेल टावरबाट अग्नि नियन्त्रकहरुले ६५ जनाको उद्धार गरेका छन् । प्रधानमन्त्री थेरेसा मेले सो आगलागीबारे पूर्ण छानविन हुने बताएकी छन् । आधा रातमा आगलागी हुँदा सो भवनमा सयौं मानिस रहेको हुन सक्ने अनुमान गरिएको छ ।