४३ जिल्लामा खेलाइने यू–१६ फुटबल प्रतियोगिताको घोषणा

625
views

काठमाडौं, १ असार । अखिल नेपाल फुटबल संघ (एन्फा), युवा तथा खेलकुद मन्त्रालय र कोकाकोला नेपालको संयुक्त आयोजनामा ‘कोकाकोला कप २०७४’ नवौं संस्करणको घोषणा गरिएको छ । विद्यालयस्तरीय आधारभूत तहको देशकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको घोषणा गरिएको हो ।
प्रतियोगितामा एन्फासँग आबद्ध ४३ जिल्लाबाट प्रत्येक जिल्लाका ३५ भन्दा बढी विद्यालयहरु सहभागी हुनेछन् । यति धेरै संख्यामा छात्र र छात्रा खेलाडीको सहभागिता रहने यो नेपालकै सबैभन्दा बृहत प्रतियोगिता हुने आयोजकको दावी रहेको छ ।
कोकाकोला कप नेपाली युवाहरुलाई फुटबलमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा आफ्नो क्षमतालाई विकास गर्ने अवसर प्रदान गर्ने संरचना भएको आयोजकको दावी रहेको छ । यो वर्षको प्रतियोगिता जिल्ला, क्षेत्रीय र केन्द्रीय तह गरी तीन तहमा वर्गिकरण गरिने बताइएको छ ।
जिल्ला तहका खेलहरु क्रमशः ४३ जिल्लाहरुमा २०७४ असार २३ गते देखि श्रावण १३ गतेसम्म आयोजना हुनेछ । यसैगरी क्षत्रीय तहको प्रतियोगिताहरु ५ क्षेत्रहरुमा ६ वटा स्थानमा क्रमशः २०७४ श्रावण २९ गतेदेखि भदौ ९ गतेसम्म संचालन हुनेछ भने राष्ट्रिय तहका खेलहरु काठमाडौंमा २०७४ भाद्र २३ गते देखि असोज १ गतेसम्म आयोजना गरिने छ ।
२०६३ सालदेखि शुरु भएको प्रतियोगिताले एन्फाद्वारा संचालन गरिने विशेष तालिम कार्यक्रमका लागि सहभागी छान्ने अवसर पनि प्रदान गर्दछ । खेलमा सहभागी टोली तथा उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्नेहरुलाई प्रदान नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । छात्र तथा छात्राहरु दुवै समूहका बिजेताहरुले तीन लाख प्राप्त गर्नेछन् भने पहिलो तथा दोस्रो रनर–अपले क्रमशः एक लाख र पचास हजार प्राप्त गर्नेछन् । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट फरवार्डरलाई पनि पुरस्कृत गरिने छ ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले प्रतियोगिताबारे जानकारी दिँदै भने, ‘कोकाकोला कपले नेपाली युवाहरुलाई उनीहरुको कार्यक्षमता उजागर गर्न तथा उनीहरुको फुटबलको सिपलाई तिखार्न सहयोग गर्ने उद्देश्य राखेको छ ।’ उनले यो प्रतियोगिता एन्फासँगको सहकार्य तथा युवा खेलाडीहरुको लागि एउटा माध्यम भएको बताए ।