म्याग्दीमा बाढीले एक बेपत्ता, चार पुल र मन्दिर बगायो

486
views

बेनी, ६, साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेको भजेनी खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बाढीले बगाउँदा बेपत्ता भएको वडा सदस्य हस्तबहादुर पुनले बताए ।

निरन्तरको भिषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन वटा मोटरेबल र दुई वटा झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर समेत बगाएको छ ।

बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधिन र पुरानो मोटरेबल पुल पुरेको छ । घाँस खोलामा निर्माणाधिन अर्को मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

बाढीले रुप्से झरनाको परिसरमा रहेको मन्दिर र गडल्याड वाटरफल रेष्टुरेष्ट पनि बाढीले बगाएको छ । मोटरेबल पुल निर्माणमा प्रयोग भएको ज्वाला कन्ट्रक्सनको एक वटा एक्साभेटर (डोजर) र पार्कीङ गरेर राखिएको बस बगाएको छ ।

यस्तै कालीगण्डकीको बाढीले अन्नपूर्ण गाउँपालिकाको दाना र गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ ।