चीन पनि नेपाली भूमि अतिक्रमणमै

537
views

काठमाडौं, ७, असोज । चीनले हुम्लास्थित लाप्चा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको विषय खुलेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ । तर, चीनले अतिक्रमित भूमिलाई आफ्नो भनेको छ । मङ्गलबार साँझ चिनियाँ राजदूतावासले विज्ञप्तिमार्फत् उक्त भूभाग चीनतर्फ रहेको प्रमाणित गरिएको दाबी गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्तामार्फत् विज्ञप्तिमा भनिएको छ, ‘मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।’ चीनले हुम्लामा अतिक्रमित क्षेत्र मिडियाको मात्र खबरका रुपमा उल्लेख गरेको छ । तर, अतिक्रमित भूमिबाट चिनियाँ पक्षको निर्माण रोक्न पहल भइसकेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगी अध्ययन तथा छलफल गरिसकेको छ । नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ चिनियाँ पक्षले निर्माण कार्य गरिरहेको क्षेत्र नेपालको रहेको स्पष्ट पारिसकेका छन् । उक्त क्षेत्रमा पिलरको खोजी समेत भइरहेको छ ।

चिनियाँ पक्षले भने नेपाली पक्षले पुनः प्रमाणिकरण गर्न सक्ने बताएको छ । चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता र अखण्डताको सधै सम्मान गर्ने भन्दै कुनै सीमा विवाद नरहेको बताएको छ ।

हुम्लामा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको खबर सार्वजनिक भइसकेको छ । चिनियाँ सैनिकले उक्त क्षेत्र चीनको भन्दै नेपालीलाई प्रवेश गर्न रोकेको छ ।