काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल संक्रमितले भरिए

443
views

भक्तपुर । कोरोनाको हटस्पट बनेको काठमाडौंस्थित तीनवटा सरकारी कोभिड विशेषसहित अन्य अस्पताल संक्रमितले भरिएका छन्।

बुधबार गरिएको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले काठमाडौंका सबै अस्पताल भरिएकाले अब कोरोनाको गम्भीर लक्षण देखिए मात्रै अस्पताल आउन आग्रह गरेका थिए।

काठमाडौंस्थित टेकु, वीर र बलम्बु अस्पताल कोभिडका बिरामीले भरिएका छन्। अर्कातिर ललितपुरको पाटन अस्पतालमा पनि कोभिडका बिरामीको चाप छ। त्यस्तै शिक्षण, कान्तिपुरसहितका अस्पतालमा पनि संक्रमितको चाप छ।

काठमाडौं र ललितपुरमा कोरोना संक्रमितले अस्पताल भरिँदा भक्तपुरको दृश्य भने अर्कै छ। काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र आइसोलेसन वार्ड अभाव भएको बताइरहँदा भक्तपुरमा भने पर्याप्त मात्रामा खाली छन्।

जिल्लाका विभिन्न अस्पतालले व्यवस्था गरेका २० आईसीयू शय्यामध्ये आजसम्म १५ शय्या खाली छन् भने १२ वटा भेन्टिलेटर सबै खाली छन्।

भक्तपुर अस्पतालमा पाँच, केएमसी अस्पताल दुवाकोटमा सात र नेपाल कोरियामैत्री नगरपालिका अस्पताल थिमिमा आठ शय्या आईसीयू कोभिड–१९को उपचारका लागि छुट्याइएको छ। तीमध्ये भक्तपुर अस्पतालका आईसीयू मात्र भरिएका छन्। यहाँ चार पुरुष र एक महिलाको आईसीयूमा उपचार भइरहेको छ। अन्य दुई अस्पतालमा आईसीयू पूर्णरुपमा खाली रहेका स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले बताए।

यस्तै भक्तपुरका विभिन्न अस्पतालका आइसोलेसन वार्डसमेत खाली रहेका छन्। जिल्लाको कोभिड अस्पतालका १५ मध्ये दुई आइसोलेसन वार्ड खाली छन्। यहाँ आठ पुरुष र पाँच महिला उपचार गराइरहेका छन्। मध्यपुर अस्पतालमा १० शय्या आइसोलेसन छन्। यहाँ दुई महिला उपचार गराइरहेका छन्। केएमसी अस्पतालका १०० शय्यामध्ये ८५ शय्या खाली छन्। यहाँ १० पुरुष र पाँच महिला उपचार गराइरहेका छन्।

इवामुरा अस्पतालका चार, नागरिक अस्पतालका तीन, सिद्धि स्मृति अस्पतालको एक, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका नौ, बीपी आँखा अस्पतालको एक, जनस्वास्थ्य केन्द्रका दुई, समिट अस्पतालका १०, आरोग्य अस्पतालको चार र क्यान्सर अस्पतालका छ आइसोलेसन वार्डसमेत खाली रहेका प्रमुख मिजारले जानकारी दिए।

संस्थागत आइसोलेसन केन्द्रसमेत पर्याप्त मात्रामा खाली छन्। जिल्लामा सात संस्थागत आइसोलेसनमा ७०३ वार्ड छन्। तीमध्ये ३४४ मात्र उपयोग भएका छन्। नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र खरिपाटी आइसोलेसन केन्द्रमा २०० वार्ड छन्। यहाँ ३६ पुरुष र छ महिला गरी ४२ जना उपचार गराइरहेका छन्। खानेपानी कार्यालयको तेलकोटस्थित तालीम केन्द्रमा २३ आइसोलेसन वार्ड सबै खाली छन्।

कृषि विकास बैंकको तालीम केन्द्र बोडेको ५० आइसोलेसन वार्डमध्ये १२ वटा खाली छन्। यहाँ २७ पुरुष र ११ महिला गरी ३८ सङ्क्रमित उपचार गराइरहेका छन्। सैनिक विद्यालय सल्लाघारीका १५० आइसोलेसन वार्डमध्ये ४५ खाली छन्। यहाँ ८८ पुरुष र १७ महिला उपचार गराइरहेका छन्। सूर्यविनायक ब्यारेकका ७५ वार्डमा ५२ पुरुष उपचार गराइरहेका छन् भने २३ वटा खाली छन्।

त्यस्तै सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३० आइसोलेसन वार्ड छन्। यहाँ ७८ पुरुष उपचार गराइरहेका छन्। बाँकी ५२ वार्ड खाली छन्। भक्तपुर नगरपालिकाले हालै सञ्चालनमा ल्याएको ब्रम्हायणी आइसोलेसन केन्द्रका ७५ वार्डमध्ये ४६ खाली छन्। यहाँ १५ महिला र १४ पुरुषगरी २९ कोरोना सङ्क्रमित उपचार गराइरहेका छन्।