मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सचिवहरुको सरुवा

667
views

काठमाडौं, ३०, असोज । मन्त्रिपरिषद् पुनर्गठनलगत्तै सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको व्यापक सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । यसअघि पनि संघीयमा रहेका कोइरालालाई पुन संघीय मामिला मन्त्रालयमा नै ल्याइएको छ ।

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसैगरी, प्रधानमन्त्री कार्यालयका सचिव केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यस्तै, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा र सो आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ भने सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।