नेकपा विवाद मिलाउन राजदुत यान्छीको दौडधुप

327
views

काठमाडौं, २५, मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद बल्झिएर नेकपा एकता नै संकटमा पुगेको बेलामा चीनको सक्रियता बढेको छ । चीनले नेकपाभित्र प्रभाव बनाएयता उसमाथि लगाम समेत लगाइसक्दा संकट समाधानमा पनि प्रत्यक्ष अप्रत्यक्ष भुमिका निभाउन थालेको हो । राजदूत होउ यान्छी गोप्य रुपमा नेताहरुसँग भेटघाटमा सक्रिय भएकी छिन् ।

वैशाखदेखि नै नेकपाभित्र आन्तरिकरुपमा भुसको आगोजस्तै सल्किन सुरु भएपछि चिनियाँ पक्षले एकता जोगाउनका लागि प्रयासहरु थालेको थियो । मिलेको विवाद फेरि बल्झिएपछि मिलाउन चिनियाँ पक्षले सक्रियता पुनः बढाएको हो ।

पूर्व नेकपा एमाले र पूर्वमाओवादीबीच एकता चीनले नै गराइदिएको चचा चलिरहँदा पछिल्लो समय देखिएको चिनियाँ सक्रियताले यस कुरालाई पुष्टि गरेको छ । चिनियाँ राजदूतकै सक्रियतामा अहिलेसम्म नेकपा एकता जोगिँदै आएको कुराबाट पनि एकता पनि चीनले नै गराइ दिएको विषयले पुष्टिका लागि बल पाएको छ ।

वैशाखयता नेकपा एकतामा विभिन्न उतारचढावहरु आएका छन् । यतिसम्मकी स्थायी कमिटी बैठकका बहुमत सदस्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग गर्ने काम समेत भएको छ । तर, त्यसलगत्तै देखिएको चिनियाँ राजदूत होउ यान्छीको दौडधुपले त्यो साम्य भएको थियो ।

प्रधानमन्त्री ओलीको पद जोगाउनका लागि चिनियाँ राजदूतले कूटनीतिक मर्यादाविपरीत नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगको भेटवार्ता गर्दै पार्टी नफुटाउन दबाब दिएको विषय उठेको थियो ।

फेरि पछिल्लो समय पनि प्रधानमन्त्री ओलीले पार्टी र सरकारका कामकारबाहीहरु एकलौटीरुपमा अघि बढाउन थालेपछि अर्का अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओली सत्तामा रहनुपर्ने आधारहरु गुमाइसकेको आरोप लगाएका थिए । यहीबीचमा चिनियाँ रक्षामन्त्री वेई फिङ्गेको नेपाल भ्रमण भएका कारण चिनियाँ दूतावासले रक्षामन्त्रीको भ्रमणसम्म पार्टीका विवादलाई यथास्थितिमा राखन दबाब आयो ।

राजनीकि दलको विवादमा खुल्ला रुपमा मिलाउन उत्रिएकी राजदूत यान्छीले रक्षामन्त्री फिङ्गे र पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गराएर राष्ट्रपति सी जिनपिङको दसैं तथा तिहारको शुभकामना सन्देश दिने वातावारण मिलाउने प्रयास गरेकी थिइन् । तर, उनी सफल हुन सकिनन् । रक्षामन्त्री फिङ्गे प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरेर फर्किएका थिए ।

नेकपाको आन्तरिक राजनीतिमा भइरहेको चिनियाँ भूमिका खुल्न थालेपछि सर्वत्र चासो र चर्चा चलेको छ । चीनले नकेपाका नेताहरुलाई विद्यालयका बालबालिकाजस्तो व्यवहार गर्न थालेकोबाट नेकपाकै अधिकांश नेताहरु आक्रोशित बनेको विषय पनि उठ्न थालेको छ । नेकपाको एउटा पक्ष चिनियाँ राजदूतको सक्रियताबाट खुशी छैन । तर, मुख फोर्न सकेको छैन ।

काठमाडौं चिनियाँ कूटनीतिज्ञको भेटघाट सम्पूर्ण कूटनीति अभ्यास र शिष्टाचारको सबै मापदण्ड नाघेर भइरहेको भन्दै विरोध पनि बेला बेलामा भइरहेको छ । तर, त्यस्तो विरोध गर्नेलाई चिनियाँ पत्रिकाले भारतपरस्तको आरोप लगाउन थालेको छ । नेपाली काँग्रेसलाई ग्लोबल टाइम्सले भारतपरस्त भनी लेखिसकेको छ ।

पछिल्लो समय राजदूत यान्छी राजनीकि भेट विवादमा आएपछि आफूभन्दा तल्लो तहका कर्मचारीलाई खटाउन थालेकी छिन् । यतीमात्र नभएर केही महत्वपूर्ण वार्ताका लागि भने राजदूत यान्छी रातिको समयमा आफैं निजी ट्याक्सीमार्फत नेताहरुको घरघरमा जाने गरेको बुझिएको छ । उनी निजी ट्याक्सीमा रातिको समयमा नेकपा नेताहरुसँगको भेटघाटका लागि निस्कन थालेकी छिन् । तर, कतिपय नेताहरुले त्यस्ता भेटहरु विश्वासपात्रहरुमापर्ःत् खुलाउन थालेका छन्। उनले नेकपा नेताहरुलाई एकता कायम गर्नका लागि चर्को दबाब दिइररहेकी छिन् । रिपोर्टर्स नेपालबाट